काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको छ ।
मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट मंगलबार साँझ विज्ञप्ति जारी गर्दै समूहले घटनाको जिम्मेवारी लिएको हो । विज्ञप्तिमा समूह विरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ ।
पटकपटक पार्टी विरोधी गतिविधि गर्न रोक्न र आफूलाई सच्याउन भनी सम्झाउँदा पनि उनले उग्र गतिविधि गरेको समूहको दाबी छ ।
प्रधानाध्यापक श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची-कोसी बैठकका क्रममा प्रहरी बोलाएर दमन गराउन भूमिका खेलेको आरोप विप्लव समूहले लगाएको छ। इन्चार्ज प्रतापले आफूहरुद्वारा गठित सेनाविरुद्ध पनि सशस्त्र प्रहरी लगाएर सर्च अपरेसन चलाएको आरोप प्रधानाध्यापक श्रेष्ठमाथि लगाएका छन्।
मंगलबार बिहान ७ बजे घरबाट करिब ३ सय मिटर पर जंगलमा लगेर श्रेष्ठलाई बाँधेर घाँटी रेटी हत्या गरिएको थियो ।
