खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका–३ साँवाकटहरे देउरालीका ५२ वर्षीय शंकर खड्का विगत तीन महिनादेखि आन्द्रासम्बन्धी जटिल स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। उपचारका क्रममा दुईपटक शल्यक्रिया गरिसक्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि थप उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा उनको परिवार आर्थिक संकटमा परेको छ।
सुरुवातमा पेट दुख्ने र खाना खाएपछि बान्ता हुने समस्या देखिएपछि खड्का गत जेठ ४ गते उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए। चिकित्सकको सल्लाहअनुसार जेठ ६ गते उनको पहिलो शल्यक्रिया गरिएको थियो। पहिलो शल्यक्रियापछि केही समय स्वास्थ्यमा सुधार देखिए पनि पुनः समस्या बल्झिएपछि गत असार १९ गते दोस्रोपटक शल्यक्रिया गर्नुपरेको उनकी श्रीमती मैना खड्काले बताइन्।
उपचारका क्रममा हालसम्म करिब ८ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ। तर, दुईपटक शल्यक्रिया गरिसक्दा पनि उनको स्वास्थ्य अवस्था सामान्य बन्न सकेको छैन। खाना खाएकाे करिब १५ देखि २० मिनेटपछि देखि शल्यक्रिया गरिएको स्थानबाट पानीजस्तो तरल पदार्थ रसाएर बाहिर निस्कने समस्या देखिएको श्रीमती खड्काले बताइन्।
खड्काको स्वास्थ्यमा थप सुधार ल्याउन अझै उपचार आवश्यक रहेको बताइएको छ। तर, उपचारमा ठूलो रकम खर्च भइसकेकाले थप उपचारको खर्च धान्न परिवारलाई कठिन भएको छ। परिवारको मुख्य सहारा रहेका खड्का लामो समयदेखि उपचाररत भएपछि घरायसी आर्थिक अवस्था समेत कमजोर बन्दै गएको परिवारजनले बताएका छन्। खड्काको परिवारमा श्रीमती, दुई छोरा, एक छोरी र वृद्ध आमाबुबा छन्।
उपचारका लागि हालसम्म ठूलो रकम खर्च भइसकेको र अझै उपचार जारी राख्नुपर्ने भएपछि परिवारले स्वदेश तथा विदेशमा रहेका आफन्त, नातागोता, इष्टमित्र, साथीभाइ तथा सावाकटहरेमा जन्मिएर विभिन्न स्थानमा बसोबास गर्दै आएका सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ। परिवारजनले शंकरको जीवनरक्षाका लागि सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्।
उनीहरूले दुःख र विपद्को यस कठिन घडीमा मानवीय भावनाका साथ सक्दो सहयोग गरिदिन अपिल गर्दै सहयोगी मनहरूको सानो सहयोगले समेत शंकरको उपचारलाई निरन्तरता दिन ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। सहयोग गर्नुहुने महानुभावहरुले मोबाइल नम्बर ९८४०१०१२२७/ ९८२४३४३१६६ मा सम्पर्क गर्न सकिनेछ। साथै,बिरामीका भाई पूर्णराज खड्काको एनआइसी एशिया बैंकमा रहेको खाता नम्बर २४४५७५२३५०२९७००१ वा क्यूआरमार्फत पनि सहयोग गर्न सकिनेछ ।