खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हिंसा पीडित महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यकासाथ आर्थिक सहयोग गरेका छ ।
आफ्नै परिवारका सदस्यबाट पीडित भएपछि दिक्तेलमा तरकारी पसल गरेर एक जना छोरीलाई पढाइरहेकी दोर्पाकी दया पाण्डे र पारिवारिक हिंसाकै कारण विस्थापित भएपछि दिक्तेलमा बसेर एक छोरा सहित बसिरहेकी पार्वती खत्री (बुढाथोकी) लाई नगरपालिकाले नगद १५/१५ हजार प्रदान गरेको हो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवशरमा विहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले हिंसा पीडित महिलालाई नगद हस्तान्तरण गरेका छन् ।
घरेलु हिंसाका कारण विस्थापित भएपनि छोरीलाई पढाउन एक्लै संघर्ष गरेर अरुका लागि उदाहरण बनेर देखाएकामा दयालाई प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको हो ।
यस्तै, हिंसाका कारण छोरासँग बसेर व्यवसायी बन्ने प्रयास गरिरहेकी पार्वतीलाई सहयोग गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेबी राईले बताईन् । हिंसा पीडित पार्वतीले गहभरी आँशु पारेर नगरपालिकाको नगद सहयोग थापेकी थिईन् ।

उपप्रमुख राईले पारिवारिक हिंसाका कारण गाउँबाट दिक्तेलमा आएर आश्रय लिएर छोरी सहित बसिरहेकी झुमा राईलाई बंगुर पालनका लागि सहयोग गर्ने घोषणा गरेकी छन् ।
यस्तै, हिंसाका कारण नेर्पाबाट माईती घरमा आएर चित्राले बारेको छाप्रामा एक छोरा सहित बसिरहेकी अम्विका आचार्यलाई आवास निर्माणमा सहयोग गर्ने घोषणा गरिएको छ ।
उपप्रमुख राईले अम्विका र उनका छोराका लागि भूकम्पीय आवास निर्माण शैलीको दुई कोठे भवन निर्माण गरिदिने बताएकी छन् । जग्गा व्यवस्था गरेको अवस्थामा नगरपालिकाले अम्विकाको घर बनाइदिने भएपछि स्थानीय तारानाथ फुयाँलले दिक्तेलको पञ्चमावि भन्दामुनि चार आना जग्गा निःशुल्क उपलव्ध गराउने घोषणा गरेका छन् ।
कार्यक्रममा नगरपालिकाले बालक छँदै देब्रे खुट्टा गुमाएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका १२ वर्षीय सञ्जिव राईलाई बैशाखी प्रदान गरेको छ । हाल पञ्च माबि दिक्तेलमा कक्षा ५ मा अध्ययनरत सञ्जिवलाई प्रतिनिधिसभा सदस्य भट्टराईले पनि व्यक्तिगत रुपमा २ हजार प्रदान गरेका छन् ।
सञ्जिव ६ महिनाको छँदा आगोमा परेर बायाँ खुट्टा गुमेको हो । नगरपालिकाले नगरपालिकाभित्रका १५ जना दृष्टिविहिनलाई सेतो छडी प्रदान गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेकपाका जिल्ला कमिटि सचिव रामप्रसाद दंगाल, कांग्रेसकी जिल्ला कार्य समिति सदस्य डिल्लीकुमारी आचार्य, जनता समाजवादीका जिल्ला अध्यक्ष टंक थापा, राप्रपाका जिल्ला अध्यक्ष जीवन श्रेष्ठ लगायतले लैंगिक हिंसा न्यूनीकरण आफुबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

यसपल्ट ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान एकैसाथ समापन गरिएको छ । दुबै कार्यक्रम अधिकारका क्षेत्रमा काम गरिरहेका जिल्लाका १४ संघसंस्था तथा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको हो ।