खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान सामुहिक रुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । हालसम्म छुट्टाछुट्टै नर्सरी उत्पादनका काम गर्दै आएका तल्लो टोल बंगुर पालन कृषक समुहमा आवद्ध किसान गाउँपालिकाको आर्थिक सहयोगमा सामुहिक रुपमा कागतीको नर्सरी उत्पादनमा लागेका हुन् ।
गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गरेपछि किसानले ३० हजार बराबरको श्रमदान गरेर कागतीको नर्सरी लगाएको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए ।
गाउँपालिका कृषि पर्यटनको बिकास गर्ने निती तथा कार्यक्रम कार्यन्वयनमा लागेको अवस्थामा बाँझेच्यानडाँडाका किसानले पहिलो चरणमा कागतीका ४० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
हाल किसानले कागतीको नर्सरीको जराको विकासका लागि जर्खराउने (उखालेर पुःन माटो खुकुलो पारेर रोप्ने विधि) काम गरिरहेका छन् । कागतीको बेर्ना उत्पादन, कागतीको खेती विस्तार एबं बिक्रीका लागि समुहमा आवद्ध २२ किसानले प्लाष्टिकको टनेलाभित्र कागतीको बेर्ना हालेको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताए ।
गाउँपालिकाको सहयोगमा स्थानीय किसान चिया, नासपाती र कफीको बेर्ना उत्पादनमा समेत लागेका छन् । साकेला गाउँपालिका–३ खिदिमामा चिया, साकेला गाउँपालिका–४ मात्तिममा अनार र साकेला गाउँपालिका–२ रतन्छामा नासपातीको नर्सरी लगाइएको छ । हरेक नर्सरी उत्पादन सफल भएकाले चिया, कागती, नासपाती र कफीको बेना अन्यत्र खोज्नुपर्ने वाध्यता अन्त्या भएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।