खोटाङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खोटाङमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । देशमा अधिनायकवाद, भ्रष्टाचार, कुशासन मौलाएको भन्दै सोमबार जिल्लाका विभिन्न गाउँबाट कार्यकर्ता आएर सदरमुकाम दिक्तेलबजारमा नारावाजी गर्दै कांग्रेसले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

मोटरसाईकल तथा गाडीमा विभिन्न गाँउबाट नेता कार्यकर्ता सहभागी भएका थिए । नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठका अनुसार जिल्लाका १० वटै स्थानीय तहबाट नेता–कार्यकर्ता विरोध प्रदर्शनमा सहभागी थिए ।

सदरमुकाम आसपास भन्दा टाढाका नेता कार्यकर्ता विरोध प्रदर्शनमा बढि देखिएका थिए । बजारमा प्रदर्शनपछि दिक्तेलको हेलीप्याडमा कांग्रेसको बिरोधसभा गरेको थियो ।

हेलीप्याडमा भएको कोण सभालाई सम्वोधन गदै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सरकार अफसल भएको बताए। सरकारका एक–पछिका गलत कामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लज्जित भएको उनको भनाई थियो।
नेता घिमिरेले कोरोना महामारीको समयमा सडकमा आउनु राम्रो नभएता पनि सरकारले गैरजिम्मेवार क्रियाकलाप र अत्याचार जारी राखेकोले कांग्रेस सडकमा आउन बाध्य भएको बताएका थिए ।