खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै राप्रपाले वाइडबडि जहाज खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरी कानून बमोजिम कारबाही गर्न, विना प्रतिष्पर्धा बुढिगण्डकी जलविद्युत आयोजना निर्माण र सञ्चालनका लागि दिइएको ठेक्का खारेज गरी नेपालले नै निर्माण गर्ने वातावरण बनाउन, ललिता निवास जग्गा र आयल निगम जग्गा खरिदमा भएको भ्रष्टाचार, ओम्नी काण्ड, यति समुह सम्वद्ध भ्रष्टाचार काण्डका अपराधीलाई कारबाही गर्न माग गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत पठाइएको ज्ञापन–पत्रमा मेलम्ची आयोजनामा भएको घोटालाको छानविन गरी दोषीलाई कारबाही गर्न, ३८ क्वीन्टल तथा ३३ केजी सुन तस्करीको छानविन गरी दोषीलाई कारबाही गर्न, विदेशमा लुकाएर राखिएका कालो धन भित्र्याउने शंकास्पद व्यक्तीको बैंक खाता तत्काल रोक्का गर्ने तथा यस्ता अवैध कारोवारमा संलग्न व्यक्तीलाई कारबाही गर्न, २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गरी न्यायिक छानविन आयोग गठन गर्न माग गरिएको छ ।
२२ बुँदे ज्ञापन–पत्रमा संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गर्दै पूर्णधार्मिक स्वतन्त्रता सहितको नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तीहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्नका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्न, संगठीत रुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जवरजस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण तथा धर्म परिवर्तनमा संलग्न गैर–सरकारी संस्थाहरु बन्द गर्न माग गरिएको छ ।
राप्रपाले बेरोजगारी समस्या समाधानका लागि अल्पकालिन र दीर्घकालिन कार्ययोजना कार्यान्वयन गर्न, कोभिड–१९ को नियन्त्रणमा तदारुकताका साथ लाग्न, गौ हत्यालाई नियन्त्रण गर्न, कर्मचारी र शिक्षकले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था कार्यान्वयन गर्न सरकार समक्ष माग गरेको छ ।
कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासिनताको विरोध एबं सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र एबं राजसंस्थाको पुःनस्र्थापनाको पक्षमा संघर्षमा जाने तयारी भइरहेको राप्रपा खोटाङका अध्यक्ष जीवन श्रेष्ठले बताए ।