खोटाङ । खोटाङको हलेसी महादेवस्थान विकास समितिले त्रिधार्मिकस्थल हलेसी आसपासमा पुष्पलाल मध्यपहाडी लोकमार्गको ‘रुट परिवर्तन’ का लागि पहल गर्ने निर्णय गरेको छ ।
त्रिधार्मिकस्थल हलेसी नजिकैबाट बनाइएको मध्यपहाडी लोकमार्गका कारण भविष्यमा हलेसी गुफालाई अशर गर्ने देखिएकाले ‘रुट परिवर्तन’ का लागि पहल गर्ने निर्णय लिइएको हलेसी महादेवस्थान विकास समितिले जानकारी दिएको छ ।
हालसम्म गरिएका काम तथा भावी योजनाका बारेमा जानकारी दिन हलेसीमा आयोजित पत्रकार सम्मेलनमा त्रिधार्मिकस्थललाई छोएको मध्यपहाडी राजमार्गमा नियमित आवत–जावत गरिरहने सवारी साधनका कारण मन्दिर थर्कने र असुरक्षित हुने खतरा देखिएकाले सडकको रुट परिवर्तन गर्न आवश्यक ठानिएको हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष टंक राईले बताए ।
मध्यपहाडी लोकमार्गलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छापडाँडाबाट चुमाखु, कात्तिके, लोकेबर हुँदै ‘एलाइमेन्ट’ परिवर्तनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष पहल गर्ने योजना बनाइएको जानकारी दिइएको छ । सधैँ व्यस्त रहने लोकमार्गले छोएका कारण भविष्यमा हलेसीको अस्तित्व नै संकटमा पर्ने चर्चा चलिरहेका बेला सडकलाई अन्यत्र मोड्न पहल गर्ने निर्णय गरिएको अध्यक्ष राईले बताए ।
मध्यपहाडी लोकमार्गमा गडिरहने गाडीको थर्कनले हलेसीको प्राकृतिक गुफा र संरचनालाई अशर पु¥याइरहेको अवस्थामा हाल बनाइएको हलेसी गुरुयोजनामा मन्दिरबाट गोलाकार २ सयमिटर क्षेत्र अधिग्रहण गर्नुपर्ने अवस्थामा सडकको रुट परिवर्तनको चर्चा चलिरहेको छ । मध्यपहाडी सडकको रुट परिवर्तनका लागि गत फागुन २८ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्री वशन्त नेम्वाङलाई ज्ञापनपत्र नै बुझाइएको थियो ।
यस्तै, हलेसी महादेवस्थान विकास समितिले हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा वार्षिक कम्तीमा १० वटा मेला लगाउने योजना बनाएको छ । हालसम्म हिन्दु धर्मसँग सम्वन्धित मेला लाग्दै आएको हलेसीमा किरात र बौद्ध धर्मसँग सम्वन्धित गरी वर्षमा १० वटा मेला लगाउनका लागि तीन वटै धर्मावलम्बीसँग समन्वय गर्ने जानकारी दिइएको छ । ‘
हालसम्म हलेसीमा कति मेलाको आवश्यकता छ भन्ने यकिन नभएकाले तीन वटै धर्मसँग छलफल गरेर कम्तीमा १० वटाभन्दा बढि मेला लगाउने योजना बनाएका छौँ,’ अध्यक्ष राईले भने, ‘मेलाको माध्यमबाट अधिकतम दर्शनार्थीलाई हलेसी भित्र्याउने र हलेसीको आर्थिक वृद्धिमा टेवा पु¥याउने हाम्रो लक्ष्य हो ।’
पत्रकार सम्मेलनमा हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले हलेसीको अन्तर्राष्ट्रियकरणका लागि हलेसीको भौगर्भीक अनुसन्धान गरी गुफाको दिर्घकालीन संरक्षण योजना बनाउने, हलेसीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरेर धामकारुपमा विकास गर्ने, त्रिधार्मिकस्थलको ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वको बारेमा एकरुपता ल्याउन विज्ञमार्फत अनुसन्धान गरी शोधग्रन्ध तयार पार्ने, हलेसी क्षेत्र विकास कोष स्थापना गर्न पहल गर्ने लगायतका योजना बनाइएको जानकारी दिए ।
यस्तै, हलेसीको संरक्षणका लागि भैरवथान लागायतका ठाउँमा अग्गा अधिग्रहण गर्नुपर्ने भएकाले संघीय सरकार समक्ष मुआव्जाका लागि पहल गर्ने, हिन्दुको मन्दिर र बौद्धको गुम्बा रहेको हलेसीमा किरात धर्मावलम्बीको प्रतिक चुल्हो निर्माण गर्ने, बसाहागुफाभित्रको पदमार्ग, मूख्य मन्दीरको बाहिरी ढोका वरिपरीको बार बन्देजलाई पुरातात्विक हिसावले व्यवस्थापन गर्ने, मन्दीर वरिपरीको सिँढीमा ढुंगा बिछ्याउने, वरीपरीका गुफामा पुग्न पदमार्ग निर्माण गर्ने लगायतका योजना बनाइएको कार्यकारी निर्देशक भुजेलले बताए ।