शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सडक डिभिजन हर्कपुरद्वार सडक तथा सडकको सीमा संरक्षणका लागि सहयोग गर्न आग्रह

सडक डिभिजन हर्कपुरद्वार सडक तथा सडकको सीमा संरक्षणका लागि सहयोग गर्न आग्रह

रोदिक खबर

१९, माघ २०७७
  • 6.2K
    SHARES
  • सडक डिभिजन हर्कपुरद्वार सडक तथा सडकको सीमा संरक्षणका लागि सहयोग गर्न आग्रह

    खोटाङ । सडक डिभिजन हर्कपुर ओखलढुंगाले सडक तथा सडकको सीमा संरक्षणका लागि पाँच स्थानीय तहलाई गुहारेको छ । घडेरी सम्याउने, घर टहरा बनाउने, एक्सेस सडक बनाउने, विद्युतका हाइटेन्सनको टावर बनाउने नाममा तथा अन्य प्रयोजनका लागि सडक विभागको स्वीकृति नदिई जथाभावी मेसिन प्रयोग गरेर राजमार्गमा संरचना निर्माणको काम भइरहेको भन्दै सडक डिभिजन हर्कपुरले ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका स्थानीय तहलाई सडक तथा सडकको सीमा संरक्षणका लागि सहयोगको आग्रह गरेको हो ।

    सिद्धिचरण राजमार्ग अन्तरगत हर्कपुर–ओखलढुंगा–सल्लेरी–फाप्लु सडक, हिलेपानी–जयरामघाट र हलेसी–दिक्तेल सडक तथा सडकको सिमा संरक्षणका लागि ओखलढुंगाको सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकालाई पत्राचार गर्दै सहयोगका लागि आग्रह गरेको हो । 

    सिद्धिचरण राजमार्ग, हिलेपानी–जयरामघाट र हलेसी–दिक्तेल सडकको सीमा केन्द्र रेखादेखि दायाँ–वायाँ १५÷१५ मिटर गरी ३० मिटर रहेको उल्लेख गर्दै सडक डिभिजनले सडक विभागको स्वीकृति लिएर मात्र सार्वजनिक सडक तथा सडक सीमामा घर, टहरा, प्रवेश द्धार, शालिक, घडेरी, सडक लगायतका संरचना निर्माणको काम गर्ने व्यवस्थाका लागि सहयोग मागेको जनाएको छ ।

    मध्यपहाडी लोकमार्गमा पर्ने हिलेपानी–जयरामघाट र हलेसी–दिक्तेल सडकको केन्द्रबाट दायाँ–वायाँ ३१÷३१ मिटर सीमा कायम गरिएको अवस्थामा सडक डिभिजनले भने सडकको केन्द्रबाट दायाँ–वायाँ १५/१५ मिटर सिमा उल्लेख गरेर संरक्षणका लागि स्थानीय सरकारलाई पत्राचार गरेको हो ।

    सडक डिभिजनको पत्रले मध्यपहाडी लोकमार्गको सिमा केन्द्रबाट दायाँ/वायाँ ३१/३१ मिटर मान्ने वा १५/१५ मिटर मान्ने भन्ने अन्योल सिर्जना गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । 

    सडक डिभिजनका कामु डिभिजन प्रमुख अरुणकुमार लाल कर्णले पठाएको पत्रमा सडकको सिमा मिचेर जथाभावी संरचना निर्माण गर्दा निस्केको ढुंगामाटो तथा अन्य सामग्री लामो समयसम्म सडकमा छोड्ने र सडकको नाली पुर्ने इत्यादिले गर्दा यातायात सञ्चालन गर्न गराउन कठिनाई हुनुको साथै सडकमा जोखिम हुने र सवारी दुर्घटना बढ्न सक्ने सम्भावना देखिएको उल्लेख छ ।

    पत्रमा सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने किसिमले सडकमा छाडा चौपाय, निर्माण सामग्री, दाउरा, गाडी पार्किङ गर्ने लगायतलाई रोक्न, कसैलाई कुनै कामको निम्ति सार्वजनिक सडक वा सडक सिमा खन्नु वा भत्काउनु परेमा आवश्यकता तथा औचित्यताको आधारमा धरौटी लिएर सडक विभागले स्वीकृत दिन सक्ने प्रावधान रहेकाले सोही बमोजिम काम गरी सहयोग गर्न भनिएको छ ।

    ‘सडकको भारवाहन क्षमता प्रतिएक्सल १०.२० मेट्रिक टन भएकोले सडक सतहलाई प्रतिकुल प्रभावबाट जोगाउन सवारीमा लोड अनुसारको थप एक्सल हुनुपर्ने देखिन्छ,’ सडक डिभिजनले भनेको छ, ‘सिद्धिचरण राजमार्ग तथा अन्य राजमार्ग एक लेनको मात्र रहेकाले ओभरलोड बोकेको मालबाहक गाडीहरु आवत–जावत गर्दा सडकको सतह तथा नालीमा प्रतिकूल प्रभाव देखिएकाले यातायात व्यवस्था विभागबाट स्वीकृत मालवाहक सवारी साधनको भारवहन नियम सम्वन्धी निर्देशिका अनुसार ओभरलोड मालवबाहक सवारी साधन नियन्त्रणको काममा सहयोग गरिदिन अनुरोध छ ।’ 

    सडक डिभिजनले सुनकोसी पुल (घुर्मी उदयपुर–हर्कपुर ओखलढुंगा) र दुधकोसी पुल (जयरामघाट ओखलढुंगा–खोटाङ जोड्ने) को चार किल्लाबाट ५ सय मिटर तल÷माथिसम्म नदीजन्य निर्माण सामग्रीहरु संकलन र उत्खननलाई पूर्णरुपमा बन्द गर्न आग्रह गरेको छ । सडक तथा सडकको सिमा संरक्षणका लागि सडक डिभिजनले सार्वजनिक सडक ऐन, २०३१ को प्रतिलिपी सहित स्थानीय सरकारलाई पत्र पठाएको छ । 

    प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - १२:४८:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको