खोटाङ । रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पूष्टि भएपछि जिल्ला अस्पताल खोटाङको आकस्मिक तथा प्रसुती बाहेकका सेवा बन्द गरिएको छ ।
गत भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पु¥याइएकी एक महिलालाई सोमबार कोरोना संक्रमण पूष्टि भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर परीक्षणकाक्रममा आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको हो ।
बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूना संकलन गरेर पिसिआर परीक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकाले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रसुती बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले बताए ।
स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेसनमा बसिरहेका ६ जना प्रहरीको पनि स्वाव परीक्षणमा पठाइएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सुचारु गरिने प्रमुख फुयाँलले बताए ।
ज्वरोको समस्यले बिरामी परेकी महिला भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी थिईन् । ‘उहाँ विदेशबाट आउनु भएको पनि होईन, विदेशबाट आउने व्यक्तिसँग सम्पर्क भएका व्यक्ति पनि होइन भनिएको छ,’ जिल्ला अस्पतालका डा. शैलेस श्रेष्ठले भने, ‘यही आधारमा अस्पतालमा भर्ना गरेर उपचार गर्दा पनि सुधार नभएपछि रेफर गरिएको थियो ।’
यससँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २० जनालाई संक्रमण भएको पूष्टि भएको छ । हालसम्म जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका १ जना र ६ जना प्रहरीलाई संक्रमण पूष्टी भएको छ ।
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पठाइएका ८५ जनामध्ये ८३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पठाइएका मध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको डा. श्रेष्ठले बताए ।