प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि निर्वाचन आयोगले गरेको कामप्रति सन्तोष व्यक्त गर्दै तयारीलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन आग्रह गरेका छन् । मंगलवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले वैशाखका लागि तोकिएको चुनावको तयारीमा कुनै कसर बाँकी नराख्न आग्रह आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए
‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीबारे जानकारी गराउनुभयो । प्रधानमन्त्रीज्यूले आयोगको काम सन्तोषजनक रहेको हुनाले धन्यवाद ज्ञापन गर्नुभएको छ । निर्वाचनको तयारीका लागि ध्यानाकर्षण गराउनुभएको छ’ थापाले भने । त्यसक्रममा आयोगले वैशाखमै चुनाव गराउन सक्षम रहेको जानकारी गराएको थियो ।
सल्लाहकार थापाले मंगलवार आयोगमा पार्टीको आधिकारिकता विवादबारे छलफल नभएको दाबी गरे । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले सोमवार गरेको निर्णयबारे पनि आयोगलाई जानकारी गराएका छन् । सरकारले पहिलो चरणमा चारवटा प्रदेश र दोस्रो चरणमा तीनवटा प्रदेशमा चुनाव गर्नेगरी सोमवार निर्णय गरेको थियो । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए ।
प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ को चुनाव एकदिन पनि पर नसर्ने बताउँदै आएका छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेकी थिइन् ।गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै नेकपा दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको पहिलो पटक हो । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।