खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसीमा पहिलोपल्ट होम स्टे सञ्चालनमा ल्याइएको छ । स्वदेश तथा विदेशबाट हलेसी आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो माल्खुका युवा सुविन्द्र गिरीले होम स्टे सुरु गरेका हुन् ।
व्यवसायिक रुपमा गाई, लोकल कुखुरा, टर्की पालन तथा तरकारी खेती गर्दै आएका गिरीले लकडाउनकै अवधिमा आवश्यक संरचना निर्माण गरी होम स्टे सञ्चालनमा ल्याएका हुन् ।

हाललाई खाजा, नास्ता, पेय पदार्थ लगायतका सेवा सहितको होम स्टे सञ्चालनमा ल्याएको गिरीले बताए । हलेसीबाट ककनी मन्दिर जाने बाटोमा गिरीले दुई वटा कटेज बनाएर होम स्टे सुरु गरेका हुन् । उनको होम स्टेले अझै पूर्णता पाउन बाँकी छ ।
हलेसी महादेवस्थान विकास समितिको पहलमा गिरीकै अध्यक्षतामा होम स्टे सञ्चालन समिति गठन भएको केही समयपछि होम स्टे सुरु गरिएको हो । माथिल्लो माल्खुमा सामुदायिक होम स्टे सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आवश्यक पुर्वाधार तयार पारेर कम्तीमा पाँच घरबाट होम स्टे सेवा दिने तयारी गरिएको गिरीले बताए ।
होम स्टेमा आउने पर्यटकलाई देखाउनका लागि माथिल्लो माल्खुमा हाल बालन र संगीनी नाच सिक्ने अभ्यास भइरहेको छ । घरेलु तथा साना उद्योग विकास समिति र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजना केही समयअघि उनीहरुलाई होम स्टे सञ्चालन सम्वन्धी तालिम दिएको थियो ।
‘पाँच घरबाट सुरु गर्ने १४/१५ घरलाई समेट्ने लक्ष्य छ,’ गिरीले भने, ‘प्रत्येक घरमा एक–एक कोठा निकालेर सामुदायिक होम स्टे चलाउने तयारी गरिरहेका छौँ । यसका लागि नगरपालिका र वडासँग पनि सहकार्य गर्ने छौँ ।’

महादेवस्थानकै तल्लो माल्खु र ऐसेलुखर्क पनि होम स्टे सञ्चालनका लागि सञ्चालन समिति गठन भइसकेको हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष टंक राईले बताए ।
होम स्टेका लागि ऐसेलुखर्कमा कोपीला राईको अध्यक्षतामा होम स्टे सञ्चालक समिति गठन गरिएको छ । दर्शनार्थी एबं पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको छैन ।
होम स्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डो¥याउने अपेक्षा गरिएको छ ।
