खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नंं - ८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । नगरपालिकाको उज्यालो घोषणा कार्यक्रम अन्तरगत नगरको वडा नं. ८ धितुङका ६ सय घर धुरीमा विद्युत विस्तार गरी मंगलबार उज्यालो वडा घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७६/२०७७ बाट विनियोजित गरिएको वडा कार्यालयको सात लाख, नगरपालिकाले ४० लाख बढिको विद्युतीय सामग्री र नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा विद्युत विस्तार कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष पृथ्वीराज राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई र उपप्रमुख बिमला राईले मंगलबार संयुक्त रुपमा बखुवा भञ्ज्याङ धितुङमा रहेको ट्रान्सफर्मरको एमसिसिबी अन गरी उज्यालो वडा घोषणा गरेका हुन्।
बर्षौ देखि विजुली बाल्ने धितुङबासीहरुको सपना साकार भए सङ्गै विद्युतको माध्यमबाट घरायसी कामकाज, विद्यार्थीलाई पढ्न पाठन देखि लिएर महिलालाई बढी टेवा पुग्ने उपप्रमुख बिमला राईले बताइन् । सोलार बत्ति र टुकिबत्तिको भरमा रहेका वडावासी विद्युत बिस्तार हुँदा हर्षित भएका छन् ।