खोटाङ । निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु उल्लेख्य हुने गरेपनि कारवाहीको दायरामा थोरै मात्र आउने भएकाले निर्वाचन प्रकृया भड्किलो वन्दै गएको सरोकारवालाहरुले वताएका छन् ।
पाँचौ निर्वाचन दिवसका अवसरमा बिहीवार खोटाङमा आयोजित कार्यक्रमका सहभागीले आचारसंहिता जति मजवुत भएपनि नियमनकारी निकाय प्रभावकारी नहुँदा यस्तो अवस्था आउने गरेको धारणा राखे । आचारसंहितामा कतिपय विषयहरु पालन हुनै नसक्ने भएकाले पनि उल्लंघनका घटना हुने गरेको सहभागीहरुको भनाई थियो ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङले आचारसंहिता पालनाका लागि सवै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, नेपाली कांग्रेसकी जिल्ला सदस्य डिल्लीकुमारी आचार्य, राप्रपाका अध्यक्ष जीवनकुमार श्रेष्ठ, सम्पादक समाज नेपाल खोटाङका अध्यक्ष कृष्ण आचार्य लगायतले आचारसंहिता उल्लंघन हुन नदिन राजनीतिक दलहरु नै मूख्य जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याए ।
जिल्ला निर्वाचन आयोग खोटाङले जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषय अन्र्तक्रिया कार्यक्रममा निर्वाचन आयोगले तयार पारेको पछिल्लो आचारसंहिताको विषयमा जानकारी गराईएको थियो ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय खोटाङकी प्रमुख कोपिला राईले आचार संहिताको पछिल्लो ड्राफ प्रस्तुत गरेकी थिइन् ।