खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सोमवारदेखि सुरु हुने सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।
‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा फागुन १० गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुने मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको हो ।
खेलमैदानमा मञ्च निर्माण, शौचालय व्यवस्थापन, खाजा घर निर्माण, खेलमैदान वरपर डोरीको घेरावारा हाल्ने, सरसफाई गर्ने, गेट निर्माण गर्ने लगायतका व्यवस्थापनको काम सम्पन्न भइसकेको आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए । यस्तै, दिक्तेलबजारबाट खेलमैदानसम्म पुग्ने सडक मर्मत गरिएको छ ।
धुलो उँड्न नदिनका लागि खेलमैदानलाई ट्याकरमार्फत पानीले भिजाइएको क्लवले जनाएको छ । नमुना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगीता गर्न लागेको हो । लफ्याङमा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानमा सञ्चालन हुने प्रतियोगीता बिहान ११ बजे प्रदेशसभा सांसद रामकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ ।
आयोजकका अनुसार पहिलो खेल साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबिचमा हुने छ । प्रतियोगीतामा २१ टिमको प्रतिष्पर्धा हुने नमुना स्पोर्टस क्लबले जनाएको छ ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई वटा टिमले ३१/३१ हजार नगद पुरस्कार पाउने वडाध्यक्ष राईले जानकारी दिए ।
यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता उद्घाटनका दिन जिल्लामा क्रियाशिल एक जना पत्रकारलाई नगद ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ३ जना वाह्य खेलाडी सहभागी गराउन पाइने व्यवस्था छ ।
प्रतियोगीताको उद्घाटन कार्यक्रममा चर्चित गायक राजेशपायल राईको सांगीतिक प्रस्तुती रहने अध्यक्ष राईले बताए । वडा कार्यालयको पहलमा स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण सुरु गरिएको हो ।
वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा २०७६ साल जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ । १२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको डिपिआर तयार पारिसकिएको वडाध्यक्ष निर्मल राईले बताए ।