खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले अनावश्यक हर्न बजाउन रोेक लगाएको छ । कतिपय अनावश्यक ठाउँमा पनि चालकले हर्न बजाएर ध्वनी प्रदूषण गराएको भन्दै सोमबार जिल्लामा कार्यरत ट्राफिक प्रहरीले सवारी चालकलाई हात जोड्दै अबदेखि हर्न नबजाइ दिन आग्रह गरेका छन् ।
ट्राफिक प्रहरीले बिहान १० बजे अबदेखि हर्न बजाउन नपाइने जानकारी दिँदै सवारी चालकहरुलाई सचेत गराएका हुन् । ट्राफिक प्रहरीको टोलीले सडकमा गुडिरहेका बस, ट्रक, जीप लगायतका चालकलाई भेटेर अनावश्यक ठाउँमा हर्न नबजाउन र चालकलाई एप्रोन अनिवार्य लगाउनका लागि आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक नरेन्द्र पौडेलले बताए ।

चालकलाई दुई हात जोडेरै त्यस्तो आग्रह गरिएको बताउँदै प्रनानि पौडेलले नटेर्नेलाई भने ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही अघि बढाइने जानकारी दिए । खोटाङका दिक्तेल, हलेसी, अर्खौले, नुनथला लगायतका स्थानमा चालकलाई हर्न निषेधका बारेमा जानकारी गराउन सोमबार बिहान १० बजेदेखि ट्राफिक प्रहरी खटिएका थिए ।
हर्न बजाउँदै सवारी चलाएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार जरिवाना वापत पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँ सम्म सजाय गरिने उनले बताए ।
पौडेलले ओभरटेक गर्ने, यात्रु बोलाउने, साइड माग्ने, बाटो काट्ने लगायतका बहानामा हर्न बजाउन नपाइने, तर घुम्ती, पहाडका अप्ठेरो बाटो, सवारी साधन ठोक्किनै लागेको अवस्था र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाइने उल्लेख गरे । प्रदेश १ प्रहरी कार्यालयले २०७४ साल असोज १ गतेबाट हर्न बजाउन रोक लगाएको थियो ।
https://www.youtube.com/watch?v=E2Lwfpj7TNs