शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पर्यटक बसले अन्य यात्रु बोकेको भन्दै यातायात व्यवसायीको ध्यानाकर्षण  

पर्यटक बसले अन्य यात्रु बोकेको भन्दै यातायात व्यवसायीको ध्यानाकर्षण  

रोदिक खबर

१२, फाल्गुण २०७७
  • 2.9K
    SHARES
  • पर्यटक बसले अन्य यात्रु बोकेको भन्दै यातायात व्यवसायीको ध्यानाकर्षण  

    खोटाङ । पर्यटक बस सेवा सुरु गरेको देश दर्शन बस सेवाले जथाभावी यात्रु ओसार–पसार गरेको भन्दै खोटाङका यातायात व्यवसायी विरोधमा उत्रिएका छन् ।

    गत फागुन ३ गतेदेखि खोटाङ–काठ्माण्डौं पर्यटक बस सेवा सुरु गरेको देश दर्शन बस सेवाले नियम विपरित यात्रु ओसार–पसार गरेको भन्दै खोटाङ यातायात प्रालि, गणेश हिमाल तराई यातायात प्रालि, सुन्दर सगरमाथा यातायात प्रालि र फिक्कल मध्य पहाडी यातायात प्रालिले विरोध जनाएको हो ।

    गत फागुन ९ गते बसेको यातायात व्यवसायीको संयुक्त बैठकको निर्णय अनुसार बुधबार प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ध्यानाकर्षण–पत्र बुझाउँदै नियमाअनुसार यात्रु ओसार–पसार गर्ने व्यवस्थाका लागि आग्रह गरेका छन् । 

    पर्यटकलाई तोकिएको समयमा हिँडाउने र तोकिएकै समयमा गन्तव्यमा पुर्‍याउने, खाना÷खाजा खान एवं आकस्मिक काम बाहेक बिच बाटोमा गाडी नरोक्ने भन्दै सेवा सुरु गरेको देश दर्शन बस सेवाले बिच बाटोबाट यात्रु बोक्ने र अन्य यातायात प्रालिमार्फत टिकट कटाएर यात्रु ओसार–पसार गर्ने गरेको पाइएको ध्यानाकर्षण–पत्रमा उल्लेख छ ।

    देश दर्शन बस सेवाले फागुन १० गते फिक्कल मध्य पहाडी यातायात प्रालिको टिकटमा एक यात्रुलाई काठ्माण्डौंबाट हलेसी पठाएको प्रमाण फेला परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

    पर्यटक ओसार–पसार गर्ने पर्यटक बसमा अन्य स्थानीय यात्रुलाई बोक्न नहुने जिल्लाका यातायात व्यवसायीको माग छ । प्रमुख जिल्ला अधिकारी शर्माले पर्यटक बसले बिचबाटोबाट यात्रु बोक्नु पर्यटक बसको कमजोरी र आफ्नो टिकटमा देश दर्शनको टिकट काट्नु अन्य यातायात व्यवसायीको कमजोरी भएको औंल्याएका छन् । 

    त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई लक्षित गर्दै देश दर्शन बस सेवाले दिक्तेल–हलेसी–काठ्माण्डौं पर्यटक बस सेवा सुरु गरेको हो । धार्मिक तथा पर्यटकीयस्थल हलेसीसँगको ‘कनेक्टिभिटी’ स्थापित गर्दै जिल्लाको पर्यटन प्र्रवर्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ पर्यटक बस सुरु गरिएको देश दर्शन बस सेवाका अध्यक्ष सिएन पाण्डेले बताए । देश दर्शन बस सेवाले १० औं गन्तव्य स्थानका रुपमा दिक्तेल–काठ्माण्डौं पर्यटक बस सेवा सुरु गरेको हो । 

    प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - १९:२२:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको