खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छिवामा आयोजना गरिएको सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले उचालेको छ ।
आइतवार मझुवागढी रञ्जितमान राई खेलमैदानमा भएको फाईनल खेलमा प्रतिष्पर्धी टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा ‘डिस्क्वालीफाइड’ भएपछि उपाधि दुर्छिमको हातमा पुगेको हो । निर्धारित समय गोलरहित सकिएपछि पेनाल्टी सुटआउटको चरणमा रेफ्रीमाथि हातपात भएपछि आयोजकले दोर्पाचिउरीडाँडालाई ‘डिस्क्वालीफाइड’ घोषणा गर्दै दुर्छिमलाई विजेता घोषणा गरेको हो ।
रेफ्रीमाथि हातपात भएपछि आयोजक, जिल्ला फुटबल संघ, म्याच कमिसनर र निर्णायकको बैठकले दोर्पाचिउरीडाँडालाई ‘डिस्क्वालीफाइड’ घोषणा गरेको वडाध्यक्ष निर्मल राईले बताए । एल्लो कार्ड पाइसकेका दोर्पाचिउरीडाँडाका एक खेलाडीले खेलको अन्तिम समयमा दुर्छिमका खेलाडीलाई हात हालेपछि रेफ्रीले रेडकार्ड दिन लाग्दा तिनै खेलाडीले रेफ्रीमाथि हात हालेपछि मैदानमा तनावको स्थिति सिर्जना भएको थियो ।
त्यसपछिको बाँकी समयमा पनि दुबै पक्षले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । तर पेनाल्टी सुटआउटको तयारीकाक्रममा दोर्पाचिउरीडाँडाका जोशीचन्द्र राईले रेफ्रीमाथि हात हालेपछि खेल अघि बढ्न नसकेको प्रतियोगीताका आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए ।
‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगीतामा विजेता घोषित दुर्छिमले नगद १ लाख ५५ हजार हात पारेको छ । ‘डिस्क्वालीफाइड’ भएका कारण दोर्पाचिउरीडाँडाका खेलाडी भने पुरस्कार विहिन बाहिरिएको छ । सेमीफाइनलिष्ट बनेको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले ३१÷३१ हजार नगद पुरस्कार पाएका छन् ।
विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, क्याप्टेन जगतराम राई लगायतले पुरस्कार प्रदान गरेका थिए । आयोजकले ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पत्रकार चिसाङ शेर्पालाई प्रदान गरेको छ ।
यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५÷५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरेको हो ।
वडा कार्यालयको पहलमा लफ्याङ छिवामाका स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि खेलमैदान निर्माण लगत्तै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।