नेपाली कांग्रेसकी नेतृ पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएकी छन् ।
हलेसी तुवाचुङ नगरपालिकाले १११ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सोमवार आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै ‘नेतृ उपाध्यायले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य हुनुपर्ने बताएकी हुन् ।
संविधानतः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हामी ५० प्रतिशतभन्दा बढी रहेका महिलाले ५० प्रतिशत भन्दा बढी सबै क्षेत्रमा अवसर पाउनु पर्दछ ।
त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो । आज संविधानतः, कानुनतः नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको हामी मान्छौं ।’
संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू हुन नसकेको भन्दै उनले कार्यान्वयन तहमा चुनौती रहेको बताइन् । ‘हामीले १६ वटा मौलिक अधिकार संविधानमा सुनिश्चित गरेका छौँ ।
ती मौलिक अधिकार सम्बन्धी कानुन बनेका छन्,’ उनले भनिन्, ‘त्यसको कार्यान्वयन भइराखेको छैन त्यो कार्यान्वयन हुनुपर्छ । स्थानीय तहमा ४० प्रतिशत र संघमा ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गरेको बताउदै त्यसलाई ५० प्रतिशत बनाउनुपर्नेमा जोड दिइन् ।’
नेतृ उपाध्यायले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकार कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक लगायत नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकतामा जोड दिइन् ।
यस्तै, नेपाली महासमिति सदस्य तथा संविधान सभा सदस्य सरस्वती बजिमयले घरेलु हिंसा तथा बलात्कारका घटना न्यूनिकरणका तथा महिला अधिकारका लागि राज्य संवेदनशील बन्नुपर्ने बताइन् ।
‘महिला हिंसाका घटनाको न्यूनीकरण हुन सकिरहेको छैन । यो ज्यादै दुःखको कुरा हो । स-साना बालबालिकाहरुको बलात्कारपछि हत्याका घटना बढिरहेका छन्,’ बजिमयले भनिन्, कतिपय घटनाका दोषीहरु कानूनको दायरामा आउन सकिरहेका छैनन् ।
हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईको अध्यक्षतामा भएको कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राई,नेपाल संस्कृत विश्व विद्यालय प्रध्यापक संघकी सदस्य तथा बाल्मीकी विद्यापीठ क्याम्पस उपप्रध्यापक रोदना घिमिरे,हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चइन्द्र राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।