खोटाङ फुटबल एकेडेमी (केएफए) ले जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको तयारी गरेको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’भन्ने नाराका एकेडेमीले आगामी चैत ४ गतेदेखि ९ गतेसम्म जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीता सञ्चालन गर्ने भएको हो ।
खोटाङ फुटबल एकेडेमीले माटिकोरेस्थित आफ्नै कार्यालयमा बिहिबार पत्रकार सम्मेलन गर्दै जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको तयारीका बारेमा जानकारी दिएको हो ।
खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको पहिलो संस्करण आयोजना गरेको थियो ।
दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगीता अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गर्ने तय गरिएको छ ।
यस्तै, प्रतियोगीता उद्घाटनका क्रममा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंको समेत उपस्थिति रहने छ । बढिमा १६ टिमको सहभागीता रहने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमले प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए ।
यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा सहभागी हुने टिम जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिक रुपमा नवीकरण गरेको हुनुपर्ने एकेडेमीका अध्यक्ष सैंजुले बताए । टिम दर्ताका क्रममा क्रम संख्या १६ टिम पुगेपछि भने टिम दर्ता रोकिने एकेडेमीले जनाएको छ ।
प्रतियोगितामा दुई जना गोलरक्षक सहित १४ जना खेलाडी, टिम मेनेजर र प्रशिक्षक गरी १६ जना हुनुपर्ने छ । प्रतियोगितामा सहभागी हुने टिमले चैत १ गतेभित्र टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।
जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीता उद्घाटनको अवशरमा खोटाङ फुटबल एकेडेमीको आफ्नै गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । सोही अवशरमा फुटसल सेन्टरलाई निःशुल्क जग्गा दानको कार्यक्रम पनि तय गरिएको अध्यक्ष शैंजूले बताए ।
प्रतियोगिताको दुई वटा सेमीफाइनलिष्ट टिममध्ये एक टिमको पुरस्कार हिमाली क्लव दिक्तेलले र एक टिमको पुरस्कार नेपाली सेनाबाट अवकास प्राप्त दिक्तेलका जमदार गोपाल श्रेष्ठले प्रायोजन गर्ने भएका छन् ।
यस्तै, खोटाङका कोकाकोला डिष्ट्रीव्युटर टेकबहादुर मुग्रातीले विद्यागत पुरस्कार तथा गौरी नुडल्सका प्रोपाईटर अमृत वुढाथोकीले म्यान अफ द म्याचको पुरस्कार र मेडलको प्रायोजन गर्ने एकेडेमीले जनाएको छ ।