अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा खोटाङ फुटवल एकेडेमीको विजयी सुरुवात

अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा खोटाङ फुटवल एकेडेमीको विजयी सुरुवात

रोदिक खबर

४, चैत्र २०७७
  • 4.3K
    SHARES
  • अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा खोटाङ फुटवल एकेडेमीको विजयी सुरुवात

    खोटाङको दिक्तेलमा सुरु जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा आयोजकले विजयी सुरुवात गरेको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथ बुधबारदेखि सुरु गरिएको जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको उद्घाटन खेलमा योङ व्वाइज यूनाइटेड फुटबल क्लव दिक्तेललाई पछि पार्दै आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले विजयी सुरुवात गरेको हो ।

    जर्सी नम्बर १८ का जोसन सैंजूले गरेको १ गोल नै आयोजक केएफएको जीतका लागि काफी भएको हो । प्रतियोगीतामा योङ ब्वाइज यूनाइटेड फुटबल क्लवले कुनै पनि गोल गर्न सकेन । सो प्रतियोगीताको म्यान अफ द म्याचको उपाधि पनि सैंजूले पाएको आयोजकले जनाएको छ ।

    दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगीता अखिल नेपाल फुटवल संघ ‐एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गरेका हुन् ।

    Football3.jpg

    प्रतियोगीता उद्घाटनका क्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिं, चर्चित फुटबलर हरि खड्का लगायतको उपस्थिति रहेको थियो । चन्दा उठाएर आयोजना गरिएको प्रतियोगीतामा १३ टिमबिचमा प्रतिष्पर्धा हुने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए । बाँकी खेल बिहिबार बिहान साँढे ७ बजेदेखि प्रतियोगीता सुचारु हुने आयोजकले जनाएको छ ।

    प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमले प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीले जनाएको छ ।

    यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

    सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष सैजुले बताए ।

    अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिकरुपमा नवीकरण गरेको टिमलाई मात्र सहभागी गराइएको छ ।

    ‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको पहिलो संस्करण आयोजना गरेको थियो ।

    केएफएको आफ्नै गीत रिलिज

    खोटाङ फुटबल एकेडेमीको आफ्नै गीत रिलिज गरिएको छ । एकेडेमीको अफिसियल गतिविधिकाक्रममा गाउन र बचाउने प्रयोजनका लागि तयार पारिएको गीत जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीता उद्घाटनको अवशरमा सार्वजनिक गरिएको हो ।

    ‘हाम्रो केएफए, सबैको केएफए’ बोलको साँढे तीन मिनेटको गीत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले सार्वजनिक गरेका हुन् ।

    केएफएकै अध्यक्ष नूरकाजी सैंजुको शव्द रहेको गीतमा गायक उल्सन श्रेष्ठको स्वर र संगीत रहेको छ । पुर्व भलिबल खेलाडी एबं जिल्ला खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष गोपाल सैंजुको प्रोडक्सनमा केएफएको गीत तयार पारिएको हो । मार्च पास र डान्समा उपयोग गर्न मिल्ने गीतलाई क्रमशः लोक, आधुनिक लगायतका भर्सनमा निकाल्ने लक्ष राखिएको अध्यक्ष सैंजूले बताए ।

    केएफए फुटसल तथा भवन शिलान्यास

    जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीता उद्घाटनकै अवशरमा केएफए फुटसल सेन्टर तथा केएफए भवन शिलान्यास गरिएको छ । दिक्तेलका विष्णुमायाँ खत्री, पोष्टकबहादुर खत्री र रामबहादुर खत्रीले निःशुल्क उपलव्ध गराएको जग्गामा केएफए फुटसल सेन्टर तथा केएफए भवन शिलान्यास गरिएको हो ।

    अखिल नेपाल फुटवल संघ ‐एन्फा)का अध्यक्ष शेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख रिजालले केएफए फुटसल सेन्टर तथा भवन शिलान्यास गरेका हुन् । फुटसल सेन्टरका लागि एन्फाकातर्फबाट दुई लाख र एन्फा अध्यक्ष शेर्पाले एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।

    केएफए फुटसल सेन्टर तथा भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई कार्यक्रममा सम्मान गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - २०:५६:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको