खोटाङ । खोटाङमा ‘राष्ट्रिय जनगणना कार्यक्रम ०७८’ को प्रारम्भिक काम सुरु भएको छ । सदरमुकाम दिक्तेलमा मंगलवारबाट जिल्ला जनगणनाको कार्यालय नयाँ कार्यालय खुलेसँगै जनगणनाको प्रारम्भिक काम सुरु भएको जिल्ला जनगणनाको कार्यालय खोटाङले जनाएको छ ।
जिल्ला जनगणना अधिकारी जीतबहादुर कोइराला (जेवी) का अनुसार आउँदो ०७८ वैशाख २६ गतेदेखि सुरु हुन जनगणना कार्यका लागि आवश्यक भौतिक तथा अन्य तयारीको काम सुरु भएको हो । संघीयता र गणतन्त्र स्थापनापछिको पहिलो जनगणनालाई प्रभावकारी, तथ्यपरक र उपलब्धिमूलक बनाउने उद्देश्यले आवश्यक ‘सफ्टवेर’ र ‘हार्डवेयर’ दुवैतर्फका काम बेलैमा गर्न काम थालिएको उनले बताए ।
दिक्तेलको भवनगैरामा स्थापित जनगणना कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक काम थालिसकेको उनको भनाई छ । जनगणनाका लागि तयार हुने विभिन्न प्रश्नावलीमा केन्द्रित भएर देशको जनसंख्यासँगै आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, रोजगारी, धार्मिक र भूमिलगायतसँग सम्वन्धित विविध विषयको मापन गरिने अधिकृत कोइरालाले बताएका छन् ।
राष्ट्रिय जनगणनाका लागि आवश्यक गणक र सुुपरभाईजर छनौटको क्रम केन्द्रीय तथ्यांक विभागले चलाईरहेको जिल्ला जनगणना अधिकारी कोइरालाले बताए । अनलाइनमार्फत आवेदन माग गरिएको विज्ञानपमा परेका आवेदनहरुको छानविन गरी कर्मचारीको छनौट हुनेछन् ।
भर्ना भएका कर्मचारीमध्ये सुपरभाइजरहरुले आगामी वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म जिल्लाका सबै स्थानीय तह र वडावडाका घरघर पुगेर घरधुरी र घर परिवारको मुख्य विवरण संकलन गरी त्यसको सूचीकरण गर्नेछन् ।
उनीहरुले तयार गरेको सूची अनुसार गणकहरुले जेठ २५ देखि असार ८ गतेसम्म जनगणनामा समावेश गरिएका विभिन्न प्रश्नावलीसहित हरेक घर दैलोमा पुगेर विभिन्न विषयको तथ्यांक संकलन गर्ने कार्यसूची तथ्यांक विभागले तयार गरेको छ । त्यसअघि जनगणनाका लागि छनौट हुने सुपरभाइजर र गणकलाई आवश्यक तालिम दिइनेछ ।
जिल्लामा तीन सय ५० बढि गणक र सुपरभाईजरलाई जनगणना सम्बन्धी तालिम दिएर हरेक घर आँगन पुगेर जनगणना गर्ने कार्यक्रम छ ।
जनगणनालाई प्रभावकारी, तथ्यपरक र उपलब्धिमूलक बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन गरिएको छ । २०६८ को जनगणना अनुसार खोटाङमा २ लाख ६ हजार जनसंख्या रहेकोे जनाएको छ ।