खोटाङमा जारी दोश्रो जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिताको फाइनलमा बाहुनीडाँडा फुटवल क्लव र युवा जागरण स्पोर्टस क्लव पुगेको छ । खोटाङ फुटवल एकेडेमी (केएफए) ले दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा बाहनीडाँडा र युवा जागरण फाइनलमा पुगेको हो ।
आइतवार दिउँसो भएको सेमिफाईनल खेलमा आयोजक खोटाङ फुटवल एकेडेमी(केएफए) लाई शुन्यका विरुद्ध १ गोल गर्दै बाहुनीडाँडा तथा नेर्पा स्पोर्टस क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै युवा जागरण फाइनलमा पुगेको आयोजकले जानकारी दिएको छ । फाइनल खेल सोमबार दिउँसो १ वजे हुनेछ ।
प्रतियोगितामा खोटाङ फुटवल एकेडेमी (केएफए) र नेर्पा स्पोर्टस क्लव सेमिफाईनलिस्ट भएका छन् । उनीहरुले प्रति टिम २२ हजार २२२ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीले जनाएको छ । उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष सैजुले बताए ।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ (एन्फा) अध्यक्ष कर्माछिरीङ शेर्पाले गरेका थिए । ‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको पहिलो संस्करण आयोजना गरेको थियो ।
पहिलो संस्करणको प्रथम उपाधि चुमेको आयोजकले दोश्रो संस्करणमा सेमिफाईनलिस्टमा चित्त बुझाउनु परेको छ । प्रतियोगितामा जिल्लाका १३ क्लवले सहभागिता जनाएका थिए ।