जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको उपाधि युवा जागरणले उचाल्यो  

जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको उपाधि युवा जागरणले उचाल्यो  

रोदिक खबर

१०, चैत्र २०७७
  • 3.9K
    SHARES
  • जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको उपाधि युवा जागरणले उचाल्यो  

    खोटाङ, चैत ९– खोटाङको दिक्तेलमा आयोजित जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको पहिलो उपाधि युवा जागरण स्पोर्टस् क्लवले उचालेको छ ।

    दिक्तेलको माटिकोरे खेलमैदानमा सोमबार भएको फाईनल खेलमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बाहुनीडाँडा फुटबल क्लवलाई ० का बिरुद्ध १ गोल गर्दै युवा जागरण स्पोर्टस् क्लव दिक्तेलले प्रथम उपाधि उचालेको हो ।

    पहिलो हाफमा जर्सी नम्बर ११ का खेलाडी डिकेन राईले गरेको गोल नै युवा जागरणको जितको लागि पर्याप्त भएको थियो । दुबैतर्फको दवावपूर्ण खेलमा पराजयसँगै बाहुनीडाँडा फुटबल क्लवले उपविजेतामा चित्त बुझाउनु परेको छ । 

    football by kfa (ended-ii) photo_daman1.jpg

    ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथ खोटाङ फुटबल एकेडेमी (केएफए) ले आयोजना गरेको प्रतियोगीतामा आयोजक केएफए र नेर्पा स्पोर्टस् क्लव सेमीफाईनलिष्ट बनेको छ ।

    प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमलाई ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमलाई प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।

    विजेता टिमलाई एसियन थाइ फुड्सका खोटाङ इन्चार्ज नवराज श्रेष्ठ, खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, हिमाली क्लवका अध्यक्ष खुसनारायण सैंजु, भुपु जमदार गोपाल श्रेष्ठ लगायतको हातबाट पुरस्कार हस्तान्तरण गरिएको छ । 

    प्रतियोगीतामा प्लेयर अफ द टुर्नामेन्टको उपाधि युवा जागरण स्पोर्टस् क्लवका आयन राईले जितेका छन् । उनलाई नगद ७ हजारका साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।

    उत्कृष्ट गोल रक्षकको उपाधि युवा जागरण स्पोर्टस् क्लवकै गोल रक्षक नविन पोखरेल, उत्कृष्ट डिफेण्डरको उपाधि बाहुनीडाँडा फुटबल क्लवका शम्भु माझी, उत्कृष्ट मिड फिल्डरको उपाधि नेर्पा स्पोर्टस् क्लवका सन्तोक राई र उत्कृष्ट कोचको उपाधि युवा जागरण स्पोर्टस् क्लवका राजु आचार्यले पाएका छन् ।

    उनीहरुलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका आयोजक खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नूरकाजी सैजुले बताए । प्रतियोगीतामा जिल्लाका १३ टिमबिचमा प्रतिष्पर्धा भएको थियो । एकेडेमीले सहयोग उठाएरै जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको आयोजना गरेको हो । 

    अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिकरुपमा नवीकरण गरेको टिमलाई मात्र सहभागी गराइएको थियो । प्रतियोगीता अखिल नेपाल फुटवल संघ ‐एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले गत बुधबार उद्घाटन गरेका थिए ।  

    प्रतियोगीता उद्घाटनका क्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिं, चर्चित फुटबलर हरि खड्का लगायतको उपस्थिति रहेको थियो । ‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको पहिलो संस्करण आयोजना गरेको थियो । 

     

    प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - ०७:०१:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको