नेकपा फुट्दा खोटाङलाई फलिफाप 

नेकपा फुट्दा खोटाङलाई फलिफाप 

रोदिक खबर

२०, चैत्र २०७७
  • 6.9K
    SHARES
  • नेकपा फुट्दा खोटाङलाई फलिफाप 

    खोटाङ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्यूँताइदियो । झण्डै दुई तिहाईको हाराहारीमा मत पाएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सरकार एमाले र माओवादी केन्द्र व्यूँतिएपछि विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेको छ ।

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा रहेका एमाले र माओवादी केन्द्रका नेता आ–आफ्नै साविकको पार्टीमा फर्किएका छन् । नेकपामा गोलवद्ध बनेका नेता तथा कार्यकर्ता सो पार्टीमा देखिएको विवाद र सर्वोच्चको फैसलाले पुःन छुट्टिनुपर्ने अवस्था बन्यो । नेकपामा रहेका एमाले र माओवादी केन्द्र एकाएक प्रतिष्पर्धी पार्टीका रुपमा अलग्गिए । यसलाई दुःखद र सुखद मान्ने दुबै किसिमका कार्यकर्ता देखिएका छन् । 

    नेकपाभित्रको विवाद र सर्वोच्चको फैसलाले खोटाङलाई भने फाईदा पुगेको छ । सर्वोच्चको फैसलाले व्यूँतिएको एमाले र माओवादी केन्द्रमा खोटाङका नेताले पार्टी राजनीतिमा अहिलेसम्मकै ठूलो पद पाएका छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरिरहेको पार्टीको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् ।

    ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई हटाएर सो ठाउँमा भट्टराईलाई फागुन १४ गते मनोनयन गरेका हुन् । संसद पुःर्नस्थापनापछि प्रमुख सचेतकबाट गुरुङलाई हटाएर सो ठाउँमा भट्टराईलाई स्थान दिइएको हो । उसो त २०५४ सालमा तत्कालिन नेकपा मालेको प्रमुख सचेतकमा खोटाङकै टंक राई चयन भएका थिए । 

    यस्तै, प्रदेशसभा सांसद रामकुमार राई पासाङ नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ को संसदीय दलको उप नेता चयन भएका छन् । गत चैत १६ गते बिराटनगरमा बसेको माओबादी केन्द्रको संसदीय दलको बैठकले इन्द्रबहादुर आङ्वोलाई संसदीय दलको नेता चयन गरे लगत्तै आङ्बोकै अध्यक्षतामा बसेको दोश्रो बैठकले राईलाई संसदीय दलको उप नेता चयन गरेको हो । 

    एमाले र माओवादी केन्द्र व्यूँतिएकै परिणाम प्रदेशसभा सांसद उषाकला राई प्रदेश नम्वर १ को सामाजिक विकास मन्त्री नियुक्त भएकी छन् । समानुपातिक सांसद बनेकी राई चैत १३ गते प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएकी हुन् ।

    यसअघि एमालेबाट संविधानसभा सदस्यको भूमिका निर्वाह गरिसकेकी राई खोटाङबाट प्रदेशको पहिलो मन्त्री पनि वनेकी छन् । खोटाङले झण्डै १९ वर्षपछि फुल मन्त्री पाएको हो । मन्त्रीको सूची हेर्ने हो भने २०५८ सालमा अशोक राई स्वास्थ्य मन्त्री बने यता खोटाङबाट कोही पनि मन्त्री बन्न सकेका थिएनन् । 

    मन्त्री राई कोदोको लोकल रक्सीको ब्राण्ड बनाउने अभियानका अभियान्ता हुन् । सांसदको भूमीकामा रहेकोबेला लोकल रक्सीमाथिको प्रतिवन्ध फुकुवा गरेर औधोगीकरण गर्नुपर्ने आवाज उठाउँदै आएकी राई नै मन्त्री बनेपछि ‘व्याण्ड भर्सेस ब्राण्ड’ ले साकार रुप लिने कतिपयको अपेक्षा छ ।

    मन्त्री राईले पदभार ग्रहण लगत्तै कोदोको लोकल रक्सीमाथिको व्याण्ड हटाएर ब्राण्ड बनाउने नारा प्रदेश नम्बर १ बाट लागू गर्न कोसिस हुने विश्वास व्यक्त गरेकी छन् । 

    एमाले र माओबादी केन्द्र व्यूँतिएपछि जिल्ला तहमा पनि कतिपय नेताको जिम्मेवारी समेत बढेको छ । सर्वोच्चको फैसलासँगै एमाले र माओबादी केन्द्र व्यूँतिदा खोटाङका केही नेतालाई भने लाभ मिलेको वरिष्ठ पत्रकार अध्यक्ष कृष्ण आचार्य बताउँछन् । कतिपयले तत्काल नपाउने पद पाएको पत्रकार आचार्यको टिप्पणी छ ।

    ‘भविष्यमा उहाँहरुले त्यी जिम्मेवारी पाउँथे होलान् तर नेकपा रहिरहेका भए अहिल्यै यी जिम्मेवारी पाउने गुञ्जायस थिएन,’ सम्पादक समाज खोटाङका अध्यक्ष रहेका आचार्यले भने, ‘पदिय लाभको हिसावले खोटाङलाई फाईदा मिलेको देखियो । केही नेतालाई ट्रेडमार्क प्राप्त भयो । तर पद पाउने खुसी छन्, नपाउने दुःखी छन् ।’ 

    प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - १६:३३:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको