खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा १२ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको छनौट प्रतियोगीताकै अवशरमा जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता सुरु गरिएको हो ।

सितोरियो करातेमा ५० केजी तौल समुहमा पुरुषतर्फ दिक्तेलका सूर्यचन्द्र राई र दिक्तेलका किङजङ राई फाइनल प्रवेश गरेका छन् । दिक्तेलका मन्दिप अधिकारी र हलेसीका कविन्द्र राई तेश्रो भएका छन् ।
यस्तै, महिला ५० केजी समुहमा जालपाका डुनु राई र सुधा राई फाइनलमा प्रवेश गर्दा दिक्तेलका स्मृति राई र अनिशा गुरुङ तेश्रो भएकी छन् ।
२५ केजी तौल समुहमा जालपाका युनिस राई र दिक्तेलका हिमाल राई फाईनल प्रवेश गरेका छन् भने दिक्तेलका आशिष राई र हलेसीका एञ्जल राई तेश्रो भएको नेपाल सितोरियो कराते संघले जनाएको छ । बाँकी खेल शनिबार बिहानबाट सुचारु हुने छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका लागि खेलाडी छनौट सुरु गरेको छ । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागीताका लागि नगरपालिकाले खेलाडी छनौट सुरु गरेको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता २०७७ अन्तरगत शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले खेलाडी छनौट प्रतियोगीता उद्घाटन गरेका छन् ।
हलेसीको बस्थानस्थित खेलमैदानमा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्तरगत छात्र/छात्रा भलिबल, सितोरियो कराते, कबड्डी र एथ्लेटिक्सका खेलाडी छनौट गरिने नगरपालिकाका खेलकुद प्रशिक्षक मिलन कसजूले बताए । छनौट प्रतियोगीता शनिबार बिहान ७ बजेदेखि सुचारु हुने नगरपालिकाले जनाएको छ ।
भलिबलको छनौट प्रतियोगीता दुर्छिम माविमा तथा सितोरियो कराते, कबड्डी र एथ्लेटिक्स हलेसीस्थित वस्थानमा गर्ने बन्दोबस्त मिलाइएको छ । आगामी चैत ३१ गतेसम्म जारी रहने राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीतामा नगरपालिकाका १५ विद्यालयको सहभागीता रहेको छ ।
छात्र भलिबलतर्फ ९ टिम र छात्रा भलिबलतर्फ ३ टिमबिचमा प्रतिष्पर्धा हुनेछ । छनौट प्रतियोगीताबाट छानिएका उत्कृष्ट खेलाडीले आगामी बैशाख ३ गतेदेखि हुने जिल्ला स्तरिय छनौट प्रतियोगीतामा सहभागी हुने अवशर पाउने छन् । जिल्लामा छनौट भएका खेलाडीले प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी हुने अवशर पाउने खेलकुद प्रशिक्षक कसजूले बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको छनौट प्रतियोगीता उद्घाटन कार्यक्रममा उपप्रमुख बिमला राई, विभिन्न वडाका वडाध्यक्ष लगायतले उपस्थिति रहेको थियो ।