खोटाङ । मुन्दुम ट्रेल (पदमार्ग) अवलोकनका क्रममा स्वीस राजदुत एलिजाबेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आइपुगेकी छन् । पुर्वका खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेल अवलोकनका लागि स्वीस राजदुत एलिजाबेथ मंगलबार साकेला गाउँपालिका पुगेकी हुन् ।
साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङलाई मुन्दुम ट्रेलको स्टार्टिङ प्वइन्ट मानिएकाले राजदुत एलिजावेथ खोटाङ आइपुगेकी हुन् । स्वीस राजदुत एलिजाबेथलाई साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झंकार), उपाध्यक्ष सरिता खड्का लगायतले स्वागत गरेका छन् । भेटघाटका क्रममा राजदुत एलिजाबेथसँग गाउँपालिकाको समग्र विकास प्रकृयाका बारेमा छलफल भएको साकेला गाउँपालिका अध्यक्ष खड्काले बताए ।
स्वीस राजदुत एलिजाबेथको टोली मंगलबार मुन्धुम पदमार्गको प्रवेशद्धार मानिएको तावाभञ्ज्याङबाट टेम्के हुँदै चखेवाभञ्ज्याङ पुगेको छ । ‘स्वीस राजदुतसँग समग्र विकास प्रकृयाको अवस्थामाथि छलफल भयो । विशेषगरि पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरियो,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘पदमार्गको प्रवेशद्वार तावाभञ्ज्याङबाट हिँड्नु भएका राजदुत टोलीको टेम्के हुँदै चखेवाभन्ज्याङ बाँस भएको छ । उहाँहरुको यात्रा क्रमशः त्यो भन्दामाथि अघि बढ्ने छ ।’
खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।
साकेला गाउँपालिकाभित्र पर्ने खण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकार विकास सहयोगको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार २५२ रुपैयाँमा मुन्दुम पदमार्गको काम भइरहेको साकेला गाउँपालिका अध्यक्ष खड्काले बताए ।