खोटाङ । खोटाङमा खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरिएको छ । गाउँमै पदमध्वज राई खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा दान गर्नेमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दाजु बैजकुमार राई र भाई ज्ञानिन राईलाई सम्मान गरिएको हो ।
शुक्रवार बाम्राङका वडाध्यक्ष ललितकुमार राई, वडा सदस्य राजेन्द्र राई, बाम्राङ युवा क्लवका अध्यक्ष किर्तमान राई लगायतले जग्गादाता दाजुभाईलाई खेलमैदानमै सम्मान गरेका हुन् ।
स्थानीय स्वर्गीय पदमध्वज राईको परिवारले खेलकुद विकास समिति बाम्राङलाई २५ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएपछि बाम्राङमा खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि पदमध्वजको स्मृतिमा श्रीमती कृष्णकुमारी, छोराहरु ऐनकुमार, बैजकुमार, केजिन, ज्ञानिन, मनिन, शैलेन्द्र र सौराज राईले संयुक्तरुपमा निःशुल्क जग्गा उपलव्ध गराएका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयबाट विनियोजन गरिएको ४ लाख ५० बाट निर्माण सुरु गरिएको पदमध्वज राई खेलमैदानलाई स्टेडियम सहितको सुविधा सम्पन्न बनाउनका लागि डिपिआरको काम सुरु गरिसकिएको छ ।
निःशुल्क प्राप्त भएको २५ रोपनी क्षेत्रफलभित्र १२० मिटर लम्बाई र ८० मिटर चौंडाई भएको व्यवस्थित बहुउद्देश्यीय खेलमैदान निर्माणका लागि चैत ११ गतेदेखि डिपिआरको काम सुरु गरिएको बाम्राङ युवा क्लवका अध्यक्ष राईले बताए । आगामी बैसाखसम्ममा सम्पन्न गर्नेगरी इनोभेटिभ बिल्डर्सले खेलमैदानको डिपिआरको काम सुरु गरेको हो ।
खेलकुदको व्यवसायीक बिकासमा टेवा पुर्याउने लक्ष्यका साथ स्थानीयको सहकार्यमा बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु गरिएको बाम्राङ युवा क्लबका अध्यक्ष राईले बताए ।
आफ्नो गाउँमा खेलमैदान निर्माणकाक्रममा स्थानीयले पनि २ लाख बराबरको श्रमदान गरिसकेका छन् । साविकको सदरमुकामसँग जोडिएको बाम्राङमा खेलमैदानको आवश्यकता परेको तथा वडाबासीको मागलाई ध्यानमा राखेर खेलमैदान निर्माणको काम सुरु गरिएको वडाध्यक्ष राईले बताए ।
पछिल्लो समय वडा–वडामा खेलमैदान निर्माण गर्ने होड चलिरहेकाबेला बाम्राङमा पनि खेलमैदान निर्माणको काम सुरु गरिएको हो । खेलमैदान निर्माणको काम सकिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि सहज हुने दाबी गरिएको छ ।