खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीता सम्पन्न भएको छ ।
गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको सर्वाधिक राशीको चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष भलिबल प्रतियोगीताको पहिलो उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ ले चुमेको छ ।
भोजपुरकै आमचोक गाउँपालिका दोश्रो भएका छन् । यस्तै, खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ सेमीफाइनलिष्ट बनेको छ ।
महिलातर्फको भलिबल प्रतियोगीतामा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ प्रथम, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी दोश्रो भएका छन् भने भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ र खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले सेमीफाइनलिष्ट बनेको छ ।

भगवती दिनानाथ मावि खोटाङबजारको प्रांगणमा बैसाख १२ गतेदेखि सुरु प्रतियोगीता बुधबार सम्पन्न भएको हो । पुरुष तथा महिला भलिबल प्रतियोगीतामा प्रथम, दोश्रो तथा दुई वटा सेमीफाइनलिष्ट टिमलाई छुट्टाछुट्टै क्रमशः १ लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेतालाई प्रतिनिधि सभा सदस्य एबं नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराई, गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई लगायतले पुरस्कार हस्तान्तरण गरेका छन् ।
प्रतियोगीतामा पुरुषतर्फको अनुशासित टिमको उपाधि चम्पादेवी गाउँपालिका–१ ले र महिलातर्फको अनुशासित टिमको उपाधि खोटाङको बराहपोखरी गाउँपालिका–१ ले जितेको छ । पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीको उपाधि षडानन्द गाउँपालिका–१ का सञ्जिव कठेत र महिलातर्फको सर्वोत्कृष्ट खेलाडीको उपाधि रामप्रसाद राई गाउँपालिका–१ की ममता राईले पाएकी छन् ।
पुरुषतर्फको उत्कृष्ट लिफ्टरको उपाधि भोजपुरको आमाचोक गाउँपालिका–३ का निसान राई र महिलातर्फको उत्कृष्ट लिफ्टरको उपाधि मानेभञ्ज्याङ गाउँपालिका–१ की पूर्णिमा बाहिङ राईले जितेकी छन् ।
पुरुषतर्फको उत्कृष्ट स्पाइकर चम्पादेवी गाउँपालिका–१ का समिप श्रेष्ठ र महिलातर्फको उत्कृष्ट स्पाइकर मानेभञ्ज्याङ गाउँपालिका–१ की चन्द्राकुमारी बस्नेत भएका गाउँपालिकाले जनाएको छ । विद्यागत रुपमा उत्कृष्ट घोषिट टिम तथा खेलाडीलाई जनही ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीतामा पुरुषतर्फ खोटाङ, ओखलढुंगा, उदयपुर र भोजपुरका गरी २३ टिम र महिलातर्फ ८ टिमको सहभागीता रहेको थियो ।