काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि बिहान ९ बजेदेखि मतदान शुरु हुन हो ।
उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् । यी दुवै नेकपा एमालेका भएकाले निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ ।
यसको नतिजा आजै आउने निर्वाचन आयोगले जनाएको छ। बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् ।
संघीयताविज्ञ देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ । आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ। शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।