राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी

राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी

रोदिक खबर

६, जेठ २०७८
  • 2.1K
    SHARES
  • राष्ट्रिय सभा उपनिर्वाचनको मतदान  जारी

    हेटौडा। बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रिक्त एक पदका लागि उपनिर्वाचन जारी रहेको छ । प्रदेश राजधानी हेटौंडामा  बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करीब सवा नौ बजेबाट शुरु भएको मतदान जारी रहेको हो । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।

    स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरे ।

    हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा राखिएको मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान चल्नेछ। कोरोना सङ्क्रमणको जोखिमका बीच हुन गइरहेको उपनिर्वाचनमा मतदान स्थल र मतदान केन्द्रमा स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अपनाएर मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्‍न श्रेष्ठले जानकारी दिए।

    उनकाअनुसार संक्रमित भएका मतदातालाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। उपनिर्वाचनमा एमालेकै दुई जनासहित तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । तर एमालेले आधिकारिक उम्मेदवार रामबहादुर थापा बादल भएको भन्दै उनलाई जिताउन आफ्ना मतदातालाई ह्वीप जारी गरेको छ।

    निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

    उम्मेदवारहरु आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् । राष्ट्रियसभा निर्वाचनमा वागमती प्रदेशसभा सदस्य, वागमती प्रदेश अन्तर्गतका पालिकाका प्रमुख र उपप्रमुखले मात्र भोट हाल्न पाउँछन् ।

    बागमती प्रदेश सभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष २ सय ३८ जना गरी कुल ३ सय ४७ जना मतदाता छन्। एक जना प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षको मतभार १८ गणना हुन्छ।

    मतदान सकिएलगत्तै आजै मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १०:५८:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको