मिटरबक्सका निहुमा चर्किएको विवादमा जुट्यो सहमति 

मिटरबक्सका निहुमा चर्किएको विवादमा जुट्यो सहमति 

रोदिक खबर

१३, भाद्र २०७७
  • 2.7K
    SHARES
  • मिटरबक्सका निहुमा चर्किएको विवादमा जुट्यो सहमति 

    खोटाङ । विपन्न परिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा रकम असुल गरिएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चुलिएको विवाद हल भएको छ ।

    नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरीव तथा विपन्न ११५ परिवारका लागि उपलव्ध भएको मिटरबक्स वितरणकाक्रममा ७५० रुपैयाँदेखि २ हजारसम्म रकम असुल गरिएको भन्दै चर्किएको विवाद विहिवार सहमतीमा टुंग्याइएको हो ।

    गरिव तथा विपन्नलाई निःशुल्क दिनुपर्ने मिटरबक्स उपभोक्ता समितिले सशुल्क वितरण गरेको भन्दै नेकपा वडा कमिटि खार्मीले साउन २६ गते जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ज्ञापन–पत्र बुझाएपछि मिटरबक्समा आर्थिक लेनदेन भएको सार्वजनिक भएको थियो । 

    विद्युतको मिटरबक्स पाएवापत पैसा तिरेका स्थानीय र उपभोक्ता समितिलाई छलफल गराएर सहमती कायम गराइएको खार्मीका वडाध्यक्ष रामचन्द्र राईले बताए । निःशुल्क पाउनुपर्ने मिटरबक्स लिनेक्रममा विद्युत विस्तार उपभोक्ता समितिलाई पैसा बुझाउनु परेको भन्दै स्थानीयले पैसा फिर्ताका लागि वडा कार्यालयमा निवेदन दिएका थिए ।

    मिटरबक्स वापत अधिकांश घरबाट रकम असुल गरिएको भनिएपनि वडा कार्यालयमा चार जनाको मात्र निबेदन परेको वडाध्यक्ष राईले बताए । ‘निवेदकले पैसा फिर्ता दिनैपर्छ भनेन, गल्ती स्वीकार गरे पुग्छ भन्यो,’ वडाध्यक्ष राईले भने, ‘मुद्धा मामिलामा जानुभन्दा मिलेर जाऔं भन्नेमा सहमती भयो । उहाँहरुबीचमा पैसा फिर्ता गर्नु/गराउनु परेन ।’ 

    भएको कमीकमजोरीलाई आत्मसाथ गर्दै आगामी दिनमा कमीकमजोरी नदोहो¥याउने, आगामी दिनमा वडाका हितको लागि सबैले लागिपर्ने र विद्युत लगायतका सवालमा कुनैपनि गुनासो आएमा सर्वदलीय छलफल गरी निष्कर्ष निकाल्ने सहमती भएको छ ।

    उपभोक्ता समितिले मिटरबक्स वापत पैसा लिएको स्वीकार गरेकाले निवेदकले पैसा फिर्ता नलिएको नेकपा वडा कमिटि खार्मीका अध्यक्ष हर्कराज राईले बताए । ‘उपभोक्ता समितिले कमजोरी गरेकै ठहरियो,’ राईले भने, ‘कमजोरी स्वीकार गरेकाले कसैले पनि पैसा फिर्ता नलिएको हो ।’

    नेकपा वडा कमिटि खार्मीले नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरीब तथा विपन्न परिवारका लागि निःशुल्क उपलव्ध भएको मिटरबक्समा रकम असुल गरिएको आवाज उठाएपछि साउन २८ गते जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको द्धिपक्षीय छलफलमा पीडितले वडा कार्यालयमा निवेदन दिने र वडा कार्यालयमार्फत रकम फिर्ताका लागि पहल गर्ने निर्णय भएको थियो । 

    नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका अनुसार खार्मीमा २०७६ सालमा ७३ घरधुरी र २०७७ सालमा ४२ घर धुरीका लागि निःशुल्क मिटरबक्स लगिएको छ ।

    तर, उपभोक्ता समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ र महेन्द्र राईले प्रतिघर ७५०, १ हजार, १ हजार २ सय र २ हजारसम्म असुल गरेको आरोप लगाइएको थियो । आरोपित उपभोक्ता समितिका अध्यक्ष राईले भने मिटरबक्स वापत रकम नलिएको दाबी गर्दै आएका छन् । 

    प्राधिकरणका अनुशार मिटरबक्स लिनका लागि विपन्नलाई सेवा शुल्कवापत ५५ रुपैयाँ मात्र लाग्ने व्यवस्था छ । मिटरबक्स विवादलाई राजनैतिक ‘इस्यू’ समेत बनाइएको टिप्पणी गरिएको छ । 

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १०:३८:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको