राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
चौधौं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले सुनिश्चित गरेको जनताको अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्दै कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न विभिन्न जिल्लामा सरकारले जारी गरेको निषेधाज्ञालाई पालना गर्दै गणतन्त्र दिवस मनाउन आह्वान गरिन् ।
‘‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं। व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता रहेको पनि बताईन् ।
राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न सबैमा उत्साह प्रदान गर्ने अपेक्षा राखेको पनि बताईन् ।