बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन शुरु भएको छ । आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो। अपराह्न ३ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश राजधानी दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा रहेको मतदान केन्द्रमा मतदानका लागि जनप्रतिनिधि पुगेका छन्।
माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु २१७ गरी जम्मा ३०० जना मतदाता छन् ।
जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गएपनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ ।
मतदाताहरु दूरी कायम गरी मतदान केन्द्रमा लामबद्ध भएका छन् । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको र मतदान सकिएलगत्तै गणना शुरु हुने कुँवरले बताए ।