खोटाङ । प्रदेश नम्बर १ सरकारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका क्रममा प्रयोग हुने स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।
सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरबाट नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, डिजिटल थर्मोमिटर, एन्टीजेन किट, गाउन सेट, मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको हो ।
सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा नगरपालिकालाई ४० लिटरको २० पिस अक्सिजन सिलिण्डर, १० लिटरको ५ पिस अक्सिजन कन्सन्ट्रेटर, ५ लिटरको ५ पिस अक्सिजन कन्सन्ट्रेटर, १०० पिस डिजिटल थर्मोमिटर, २० पिस पल्स अक्सिमिटर, ४८० पिस गाउन सेट, १० हजार पिस कोभिड–१९ मास्क, ३ हजार २४० पिस एन ९५ मास्क, १ हजार सेट एन्टीजेन किट, २५ लिटर ह्याण्डसेनीटाइजर, १० एमएलको ७२० पाउच बायोक्लोर डिसइन्फेक्टेन्ट, ५ पिस निवुलाइजर मेसिन, १ हजार ५ सय पिस फेससिल्ड र १२ जोडी गम बुट उपलव्ध भएको हो ।
प्रदेश सरकारबाट प्राप्त भएको स्वास्थ्य सामग्री शनिबार नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाललाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उपप्रमुख बिणादेबी राई, एमाले नेता कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।