खोटाङ । खोटाङको दिक्तेलमा छैठौं अन्तराष्ट्रिय योग दिवस सम्पन्न भएको छ । कोरोना महामारीका बीचमा पनि भौतिक दुरी कायम गर्दै ‘गरौ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने मुल नाराका साथ आयूर्वेद अस्पताल खोटाङको आयोजनमा जिल्ला समन्वय समितिको सभा हलमा सोमवार अन्तराष्ट्रिय योग दिवस मनाइएको हो ।
बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योग प्रभावकारी मानिएको कार्यक्रमका वक्ताहरुले बताएका छन् । यो विषय केवल एक व्यायाम मात्र नभई, आफ्नो व्यक्तिगत पहिचान साथै त्यसलाई आत्मसात गर्न एक महत्वपूर्ण विधि भएको बताएका थिए ।
आफ्नो व्यक्तिगत जीवनमा योगलाई अपनाउन तथा यसको अभ्यास गर्न आग्रह गर्दै कार्यक्रममा सहभागीहरुले योग र ध्यानबाट राम्रो स्वास्थ्य, कार्यक्षमतामा वृद्धि, चिन्ताबाट छुटकारा, मानसिक शान्ति, रोग प्रतिरोध क्षमतामा वृद्धि, अनावश्यक विचारबाट मुक्ति, सकारात्मक सोचको विकास, आत्म ज्ञान प्राप्ति लगायतका फाइदा प्राप्त हुने कुरालाई जोड दिएका थिए ।
योगलाई शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले सर्वाधिक महत्वपूर्ण मानिन्छ । राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको प्रमुुख आतिथ्यता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा आयूर्वेद अस्पताल सञ्चालक समितिका अध्यक्ष ववि चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवि राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला समन्वय अधिकारी कल्पना श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको आयूर्वेद अस्पतालका निमित्त कार्यालय प्रमुख अजय झा ले जानकारी दिए ।
