खोटाङ । खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम ६० प्रतिशत पुरा भएको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) खण्डको डिबिएसटी कालोपत्रेको हालसम्म वित्तीय र भौतिक प्रगति ५८/५८ प्रतिशत मात्र पुरा भएको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताए ।
निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले २०७६ साल चैत ७ गतेसम्मको म्याद गुजारेपछि गत बैशाख २९ गतेसम्मका लागि प्रथम पटक म्याद थप गरिएको थियो । दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेलतर्फबाट जेठ ९ गतेदेखि आरसिसि ढलान सुरु गरिएको छ । निर्माण कम्पनीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो ।
दिक्तेलबजारको हाटडाँडाका केशव बस्नेतको घरसम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गरिने राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालयले जनाएको छ । हालसम्म सो आयोजनाका लागि १० करोड ३ लाख १३ हजार ८६८ रुपैयाँ रकम खर्च भइसकेको छ ।
दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रेको विभिन्न चरणको काम सुरु गरिएको थियो । निर्माण कम्पनीले नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसि, साईड ड्रेन, ग्राभेल सहित ६.२५ मिटर चौंडा हुने सडकको ३.७५ भागमा पिच गर्नेगरी कालोपत्रेको ठेक्का लिएको हो ।
१८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको कालोपत्रेको काम २०७५ साल मंसिर १ गते प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले शिलान्यास गरेका थिए । सुरुका दिनमा तिव्र गतिमा अघि बढाइएको सडक कालोपत्रेको काम क्रमशः सुस्त गतिमा अघि बढेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भइरहेको छ ।
दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीले २०७७ साल गत चैतमा प्रतिनिधि नै परिवर्तन गरेको छ । सुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको हो ।
याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधि बनेका राईले चैत ८ गते सडक कालोपत्रेको बाँकी कामका लागि सम्झौता गरेको थियो । विगतका तुलनामा राईले सडकको कामलाई तीव्रता दिएको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका प्रमुख उपाध्ययले बताए ।
दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम सुस्त र गुणस्तरहिन भएको पाइएपछि स्वयं राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङले २०७६ सालमा केही समय कालोपत्रेका काम रोकेको थियो ।
कालोपत्रेका काम गरिरहेको निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीलाई गुणस्तरहिन काम रोक्नका लागि ६ दिनअघि मौखिक रुपमा जानकारी गराएको कार्यालयले २०७६ साल पुस ९ गते लिखित रुपमा पत्राचार गरेर काम रोक्न लगाएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग १० टिन बालुवा गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासो आएपछि कार्यालय ‘एक्सन’ मा उत्रिएको थियो । त्यो बेला गुणस्तरहिन काम भएको पाइएपछि बालुवा, गिटी लगायतका ‘स्याम्पल’ नै उठाइएको थियो ।
लगत्तै २०७६ साल पुस २३ गते प्रदेशसभा सांसद उषाकला राई (हाल सामाजिक विकास मन्त्री), प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ लगायतको टोली सडकको कामको स्थलगत अनुगमनमा गएका थिए । सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौंलागाईलाई २०७६ साल कात्तिक ५ गते दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, सो बैठकमा चौंलागाईले गरेका प्रतिवद्धता अनुसार सडकको काममा प्रगति नभएको बताइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल–रेग्मीटार सडक पुराभएपछि दिक्तेलबाट र उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ । हाल सञ्चालनमा रहेको दिक्तेल–महुरे–फोक्सिङटारभन्दा छोटो हुने भएकाले भविष्यमा दिक्तेल–रेग्मीटार सडक पूर्वी तराई जानआउनका लागि बढि प्रयोगमा आउने जिल्ला समन्वय समिति खोटाङका प्रमुख चामलीङले बताए । सडकले मनमायाँ राई खानीडाँडा बिमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट बिमानस्थल आवत–जावत गर्ने स्थानीय लाभान्बित हुने छन् ।