खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाँच वडाका ११५ रोपनी बाँझो जग्गामा नगदे बालीको खेती लगाइएको छ । ‘बाँझो जमिनमा खेतीको लागि अनुदान’ कार्यक्रम अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा रहेको बाँझो जग्गामा अदुवा, बेसार, अलैची, फलफूल तथा खाद्यान्न बाली लगाइएको हो ।
तीन वर्षदेखि बाँझिएको जग्गालाई कृषि कर्ममा उपयोगमा ल्याउनका लागि ‘दिक्तेल रुपाकोट मझुवागढ़ी नगरपालिकाको बाँझो जमिन उपयोग सम्बन्धी कार्यविधि–२०७७’ बमोजिम १० किसानलाई अनुदान उपलब्ध गराइएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।
आर्थिक वर्ष २०७७/०७८ सम्ममा कृषि पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत स्थानीय सम्भाव्यता एवं राष्ट्रिय महत्वका आधारमा ‘एक वडा–एक पकेट कार्यक्रम’ सञ्चालन गरेर कृषकलाई व्यवसायिक कृषितर्फ उन्मुख गराइएको, चालु आर्थिक वर्षदेखि तिनै कृषि पकेटबाट उत्पादित उपजलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्ने वातावरण बनाउने, युवालाई कृषि व्यवसायमा आकर्षित गरी आधुनिक प्रविधियुक्त कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कृषि विकास कार्यक्रमबाट नमूना कृषि तथा पशुपन्छी फर्म निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै, मकैमा लाग्ने अमेरिकन फौजी कीरा नियन्त्रणका लागि कृषकलाई आवश्यक सामग्री वितरण गरी कीराको प्रकोप व्यवस्थापन गरिएको, वैदेशिक रोजगारीबाट फर्केका लक्षित वर्गलाई कृषि व्यवसाय सुरुवातका लागि प्लाष्टिक टनेल, थोपा सिँचाई सेट र आईपिएम सामग्री हस्तान्तरण एवं प्रशिक्षण कार्यक्रम गरिएको, तरकारी उत्पादनको सम्भावना भएका सुख्खा ठाउँलाई लक्षित गर्दै २० जनालाई सिँचाईका लागि प्लाष्टिक पोखरी निर्माणका लागि २५० गेजको सिल्पौलिन प्लाष्टिक उपलव्ध गराइएको नगरप्रमुख रिजालले बताए ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा महिला तथा पिछडिएका वर्गका लागि च्याउ उत्पादन प्रविधि एवं वीउ सहयोग कार्यक्रम सञ्चालन गरिएको, दिक्तेल कम्पोष्ट प्लान्ट एवं नमूना कृषि श्रोत केन्द्र उद्घाटन गरी प्रांगारिक मलको उत्पादन सुरु गरिएको, नमुना कृषि श्रोत केन्द्र अन्तर्गत आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको, माटो परिक्षणका लागि सबै वडालाई माटो जाँच गर्ने उपकरण हस्तान्तरण गरिएको, पशु नश्ल सुधार तथा कृत्रिम गर्भाधान कार्यक्रम संचालन गरिएको, एक वडा–एक कृषि प्राविधिक अवधारणा पूरा गरी कृषि तथा पशुपन्छी सेवालाई सहज बनाइएको नगरप्रमुख रिजालले बताए ।
शिक्षातर्फ कक्षा १ देखि कक्षा ८ सम्मका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको, नगर भित्रका सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा तथा टिफिन बट्टा वितरण गरिएको, स्वास्थ्यतर्फ नगरभित्रका सबै गर्भवती तथा प्रसूती भएका महिलालाई निःशुल्क फोलिक एसिड तथा क्याल्सियम चक्की वितरणको सुरुवात गरिएको, स्वास्थ्य संस्थामा प्रसूती हुन नसक्ने गर्भवती महिलालाई अन्यत्र लैजानका लागि एकतर्फी यातायात खर्च उपलब्ध गराउन सुरुवात गरिएको, स्वास्थ्य चौकी बुइपामा निःशुल्क सुरक्षित गर्भपतन सेवा र स्वास्थ्य चौकी नेर्पाबाट प्रसूती सेवा सुरुवात गरिएको, स्वास्थ्य चौकी पाथेका र बुइपामा टेलिमेडिसिन कार्यक्रम सञ्चालनमा ल्याईएको, स्वास्थ्यचौकी बुइपा र निर्मलीडाँडामा प्रयोगशाला स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै, बगरेभञ्ज्याङमा पार्क निर्माणसँग सम्बन्धित संरचनाको काम अन्तिम चरणमा पुगेको, रत्नपार्क सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण सुरु गरिएको, मझुवागढीमा चिण्डो (वाबु) को प्रतिमा स्थापना गरिएको, सुरक्षित नागरिक आवास कार्यक्रम (गरिवका लागि छानो) अन्तर्गत खरको छानो विस्थापित गरी ३४८ घरधुरीमा जस्तापाताको छानो राख्ने काम भइरहेको नगरप्रमुख रिजालले बताए ।
यस्तै, चौथो नगर दिवसको अवसरमा १५ वटा आमा समूहलाई एक–एक थान कुटानी–पिसानी मिल हस्तान्तरण गरिएको, आरन पेसालाई प्रवद्र्धन गर्ने उद्देश्यले १५ जनालाई वेल्डिङ मेसिन आरन हस्तान्तरण गरिएको, बिपन्न एकल महिला अम्विका खतिवडालाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तरगत घर निर्माण गरी हस्तान्तरण गरिएको, नगरभित्रका ‘केही गर्छु’ भन्ने फरक क्षमता भएका पाँच जना व्यक्तिलाई वीउ पूँजीको रुपमा १५ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको जनाइएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति जम्मा ८६.२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकोमा ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पूँजीगततर्फ ८१.१३ प्रतिशत र चालुतर्फ ८९.७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।
कुल विनियोजित बजेटमध्ये पूँजीगततर्फ ३० करोड ५४ लाख २२ हजार र चालुतर्फ ५० करोड ७ लाख ५७ हजार गरी ८० करोड ६१ लाख ७९ हजार खर्च भएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।