खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुलको कामले गति लिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको विचमा रहेको साप्सु खोलाको बाटोफेदीमा निर्माणाधिन प्रिस्ट्रेस वीम पुल निर्माणको कामलाई लकडाउनको समयमा पनि तीव्रता दिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले वताए । पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सूर्य एण्ड सन्स प्रालि सुनसरीले पुलको दुबै पट्टिको पिलर ढलानको काम गरिरहेको छ ।
स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) को प्राविधिक सहयोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खादेखि खानीडाँडा जोड्ने सडक खण्डमा पर्ने निर्माणाधिन प्रिस्ट्रेस बीम पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले गत असार ११ गते शिलान्यास गरेका थिए ।
४० मिटर लम्बाई भएको पुल निर्माणका लागि २०७६ साल जेठ १७ गते सम्झौता भएको पुल मूल्य अभिबृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५४५ लागतमा निर्माण गरिने पुल २०७८ साल जेठ १७ गते सम्पन्न गर्ने गरी सूर्य एण्ड सन्स प्रालि सुनसरीले ठेक्का लिएको हो ।
विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको हो । ‘पुलको काम समयमै बन्नु पर्छ । मितिमा तलमाथि गर्न दिइन्न,’ अनुगमनका लागि सोमवार निर्माणस्थल पुगेका गाउँपालिका अध्यक्ष राईले भने, ‘समयमा पुल बनेन भने निर्माण कम्पनीले फलामको चिउरा चपाउनुपर्ने अवस्था आउँछ ।’
सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक विभाग पाटन ढोका ललितपुरमा निवेदन दिएको थियो । साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा, खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी गाउँपालिका लगायतका नागरिकलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने छ ।