खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोलीले लाग्दा खोटाङमा बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो ।
घरबाट अन्दाजी एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउनका लागि शुक्रबार साँझ भरुवा बन्दुक पड्काउनेक्रममा छर्रा लाग्दा बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।
प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ । शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा शनिबार पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकिएको छ । घट्नाका बारेमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाबुआमा बैदेसिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र मानकाजी (सानीआमाको ) को घरमा बस्दै आएका थिए । बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए ।