मलेसियामा रणबहादुर बिष्टको दाहसंस्कारको तयारी गरिँदै । तस्बिर : यज्ञकुमार राईको फेसबुक
खोटाङ । मलेसियामा ज्यान गुमाएका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका रणबहादुर बिष्टको दाहसंस्कार गरिएको छ । साउन १६ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजानेक्रममा ज्यान गुमाएका रणबहादुरको १३ औं दिनमा बिहिबार दाहसंस्कार गरिएको हो ।
१८ वर्षदेखि मलेसियामा बसिरहेका बिष्टको परिवारको स्वीकृतिमा मलेसियास्थित नेपाली दुतावासको सहयोगमा त्यही दाहसंस्कार गरिएको हो । अवैध बनेर बसिरहेका उनी गत जुलाई १ तारिखदेखि मलेसियाको सेलार तामिनजयास्थित एक होटलमा काम गर्दैआएका थिए ।
बिहान कोठामा बेहोस अवस्थामा भेटिएका बिष्टको अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको होटल सञ्चालकको भनाई छ । मृत्युपछि शवलाई मलेसियान प्रहरीले काजाङ अस्पताल पु¥याएको थियो । पोष्टमार्टम रिपोर्टमा उनलाई कोभिड–१९ को संक्रमण देखिएकाले सोही कारणबाट उनको मृत्यु भएको अस्पतालले जनाएको आगमनखबरडटकमले उल्लेख गरेको छ । उनी सुगर र प्रेसरको समस्याबाट समेत पीडित रहेको बताइएको छ ।
विष्ट बैदेसिक रोजगारीका सिलसिलामा २०६१ सालमा मलेसिया पुगेका थिए । १२ वर्षसम्म उनलाई पर्खेर बसेकी श्रीमतीले घरकै सल्लाहमा दोश्रो विवाह गरिसकेकी छन् । विष्टको मृत्युको बारेमा सामाजिक सञ्जालबाट जानकारी पाएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । ‘मैले पनि सामाजिक सञ्जालबाट थाहा पाएको हो । गाउँमा बुझ्दा घट्ना यथार्थ रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लामो समयसम्म घर नआएकाले घरपरिवारकै सल्लाहमा श्रीमतीले समेत दोश्रो विवाह गरिसकेको खबर आएको छ ।’