शंखेश्वर शिवालयको पर्यटन प्रवद्र्धनमा गाउँपालिका  

शंखेश्वर शिवालयको पर्यटन प्रवद्र्धनमा गाउँपालिका  

रोदिक खबर

३०, श्रावण २०७८
  • 2.3K
    SHARES
  • शंखेश्वर शिवालयको पर्यटन प्रवद्र्धनमा गाउँपालिका  

    खोटाङको खोटेहाङ गाउँपालिकाले स्थानीय शंखेश्वर शिवालयलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न भौतिक संरचना निर्माणमा जोड दिएको छ । खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको शिवालयलाई धार्मिक पर्यटीयस्थलका रुपमा विकास गर्नका लागि गाउँपालिकाले घेरावारा, सिँढी निर्माण, रंगरोगन लगायतका काम गरेको हो ।

    गत वर्ष ७ लाखमा शंखेश्वर शिवालयको गेट सहित घेरावारा हालेको गाउँपालिकाले यस वर्ष मन्दिरसम्म पुग्ने रेलिङ सहितको सिँढी निर्माण, मन्दिरको जस्ता फेर्ने, गजुर राख्ने, झल्लर राख्ने, वायरिङ गर्ने, रंगरोगन गर्ने लगायतका काम गरेको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

    शंखेश्वर शिवालय गाउँपालिकाकै सानो हलेसीकारुपमा चिनिने सोलढुंगापछि बढि मेला लाग्ने धार्मिकस्थलका रुपमा परिचित छ । रसुवाघाट–खोटाङबजार सडकभन्दा केही माथि रहेको शिवालयमा बैशाख पूर्णिमाको दिन र कात्तिक पूर्णिमाको रात भव्य मेला लाग्ने गरेको छ ।

    विशेषगरी कात्तिक पूर्णिमाको रात विभिन्न ठाउँका जसमनी (साधुसन्त) ले मृत आत्माको शान्तिका लागि लिंगो गाडेर पुजा–आजा, रुद्री, होमादी गर्ने, १०८ तथा लाख वत्ती बाल्ने गरेका छन् । आसपासमा जंगलले ढाकेको र वरपरका दृश्यावलोकन गर्न सकिने शंखेश्वर शिवालयमा पर्यटन प्रवद्र्धनको सम्भावना प्रचुर रहेको स्थानीय रामकुमार कार्कीले बताए ।

    थामखर्क विमानस्थलभन्दा केही माथि रहेको शिवालयमा सडकबाट दुई÷तीन मिनेटमै पुग्न सकिन्छ । स्थानीय पदमकुमार राईले बिक्रम संवत १९९३ सालमा स्थापना गरेको शिवालय आसपासमा ढकमक्क गुराँस फुल्ने गरेको छ ।

    गाउँपालिकाले इन्द्रेणीपोखरी, कालिका भगवती मन्दिर, टुँडिखेल, सेल्मेगुराँस पार्क, कपासे भञ्ज्याङ, साकेला थान, गुप्तेश्वर नाछिरिङ महादेवथान, लुछुम्बु झरना, लुखुराटार, सिकारी थुम्को, रोक्सिङ भञ्ज्याङ, पञ्चकन्यदेबी नराहा, भैरवीनाथ मन्दिर, गणेश मन्दिर, बाघे ढुंगा, रक्तमालादेवी लगायतका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनको काम गरिरहेको अध्यक्ष राईले बताए । 

    प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - २२:४२:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको