प्रदेशको नाम राख्न नपाएकोमा आफूलाई पछुतो लागेको छ : शेरधन राई

प्रदेशको नाम राख्न नपाएकोमा आफूलाई पछुतो लागेको छ : शेरधन राई

रोदिक खबर

१०, भाद्र २०७८
  • 5.8K
    SHARES
  • प्रदेशको नाम राख्न नपाएकोमा आफूलाई पछुतो लागेको छ : शेरधन राई

    विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम राख्न नपाएकोमा आफूलाई पछुतो लागेको बताएका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नवनियुक्त मुख्यमन्त्रीलाई बधाई र निवर्तमान मुख्यमन्त्रीलाई बिदाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मलाई अलिकति अफसोस छ, प्रदेशको नामकरण हामीले अहिलेसम्म गर्न सकेका छैनौं, तोक्न सकेका छैनौं ।

    यो विषय प्रश्नैप्रश्नको एउटा विषय बनेको छ,’ उनले भने, ‘मुख्यमन्त्रीले प्रदेशको नाम तोक्न सकेन, राख्न सकेन, नालायक आदि इत्यादि । तर मैले नहिच्किचाइ जवाफ दिइरहेको छु, सार्वजनिक सञ्चारमाध्यम वा जुनसकै फोरमहरुमा ।’

    प्रदेशको नाम राख्ने विषय मुख्यमन्त्रीले मात्रै चाहेर नहुने बताउँदै उनले भने, ‘प्रदेशको नाम तोक्ने कुरा मुख्यमन्त्रीको जिम्माको कुरा होइन । संविधानले त्यो अधिकार दिएको छैन, प्रदेशसभाको दुई तिहाई बहुमतको संख्या पुर्‍याउने विषय छ ।

    हामीले प्रयास गर्‍यौं, तर अलिकति विषय संवेदनशील छ । अलिक समय लाग्छ । त्यसैले छलफल गरौं ।’ प्रदेश राजधानी तोक्दा नाम थाती राखेको उल्लेख गर्दै निवर्तमान मुख्यमन्त्री राईले कोरोना महामारीका कारण प्रदेशको नामकरण थप प्रभावित भएको बताए ।

    ‘म मुख्यमन्त्री बहाल भएको बेला नाम टुङगिएन,’ उनले अगाडि भने, ‘तर मलाई विश्वास छ मेरो नेता मुख्यमन्त्रीमा बहाल हुनुभएको छ, म उहाँकै दलको जिम्मेवार नेता हो ।

    त्यसो हुँदा यो नामाकरणको विषयलाई हामी छिट्टै औपचारिक अनौपचारिक छलफल र परामर्श गरेर यही अधिवेशन वा विशेष अधिवेशन बोलाएर टुङ्गो लगाउन सकिन्छ ।’ उनले चुनौतीका बीच पनि आफ्नो नेतृत्वको प्रदेश सरकारले राम्रो काम गरेको बताए । अनलाइनखबरबाट ।

    प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - २१:४७:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको