सप्तकोशी नदीमा पानीको बहाव दुई लाख १६ हजार ९४० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। शनिबार दिउँसो ४ बजेको मापनअनुसार पानीको बहाव निरन्तर बढ्दो गतिमा रहेकाले कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३० वटा खुल्ला गरिएको छ। आवश्यता परेको खण्डमा अरु थप ढोका खोल्ने जानकारी दिइएको छ।
कोशी ब्यारेजमा अहिले पश्चिम र पूर्वतर्फ खतराको संकेत रातो बत्ती बालिएको छ। दुई लाख काट्ने बित्तिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख कट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।
यद्यपि, अहिलेसम्म पूर्वी तटीय क्षेत्रमा कुनै समस्या नरहेको प्रशासन कार्यालयले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। कोशी व्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ।
सन् १९६८ मा ७ लाख ८८ हजार क्यूसेकसम्मको भार थामेको थियो। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको वहाव चार लाखभन्दा मुनी नै रहेकाले कुनै अनुमान लगाउन सक्ने अवस्था छैन।