खोटाङ । , खोटाङमा प्रहरीले वाल विवाह रोकेको छ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको झाँक्रीबास देउरालीमा बालविवाह हुन गइरहेको सूचना पाएपछि विवाह प्रहरीले रोकेको हो ।
बाकाचोलकी १७ वर्षीय किशोरी र ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २१ वर्षीय तामाङ थरका किशोरबिच विवाह हुन लागेको गोप्य सूचनाका आधारमा प्रहरी गएर सम्झाई बुझाई गरेर विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक एवं सूचना अधिकारी सागर साहले बताए ।
ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरीको टोली शुक्रबार दुलही अन्माउने घरमा पुगेपछि जन्ती बेहुलीबिनै घर फर्किएको छ । उमेर नपुग्दै विवाह गर्नु कानूनी विपरित भएको भन्दै केटा र केटी पक्षलाई सम्झाई बुझाई गरेर विवाह रोक्न सहमत गराइएको प्रहरीले जनाएको छ । बाकाचोलमा तीन वटा बालविवाह भइसकेको श्रोतले जनाएको छ ।
बीस वर्षभन्दा कम उमेरमा गरिने जस्तोसुकै विवाहलाई कानुनले अवैधानिक मानेको छ। नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने-गराउने सबै पक्षलाई रु ३० हजारसम्म जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ।