काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छिन् ।
उनले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।
“उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।
कोरोना भाइरस संक्रमणसँग जुधिरहेका भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार अपरान्ह निधन भएको छ। ८४ वर्षीय मुखर्जीको निधन भएको पुष्टि उनका छोरा अभिजितले गरेका छन्।
कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका उनको साउन २६ मा मस्तिष्काघात भएर र शल्यक्रिया गरिएको थियो। उनी भारतको तेह्रौं राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म कार्यरत थिए।
भारतीय विदेश मन्त्रीमा लामो समय रहेका उनले नेपालका दलहरु बीच दिल्लीमा सम्पन्न १२ बुँदे समझदारी गराउनमा महत्वपूर्ण भूमिका खेलेको बताउने मुखर्जी राष्ट्रपति हुनु अघिसम्म भारतीय कांग्रेसका शीर्षस्थ नेता थिए।