खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा प्रथम किराती राजा यलम्बर हाङको सय फिट अग्लो शालिक निर्माण गर्न लागिएको छ । पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाको ३० प्रतिशत र १ नम्बर प्रदेश सरकारको ७० प्रतिश गरी १४ करोड को लागत सहभागीतामा पुरा गर्नेगरी बुइपाको पञ्चरदोबाटोमा प्रथम किराती राजा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माण सुरु गरिएको हो ।
नछुङ धनीराम नछुङले मुन्धुमी विधि अनुसार माङी गरेपछि ३ कात्तिकमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले प्रथम किराती राजा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क शिलान्यास गरेका छन् ।
दिक्तेल र उदयपुरको गाईघाट जोड्ने महुरे–फोक्सिङटार सडकले छोएको पञ्चरदोबाटोमा रहेको करिब ३० रोपनी सार्वजनिक जग्गाभित्र चोभारको मञ्जुश्रीपार्कको शैलीमा यलम्बर हाङको शालिक तथा यलम्बर पार्क निर्माण सुरु गरिएको हो ।
प्रथम किराती राजाको सम्मान र सम्झना गर्दै गाउँठाउँको पर्यटन प्रवद्र्धनका लागि यम्बर पार्क निर्माण सुरु गरिएको मेयर रिजालले बताए ।
प्रवेश शुल्कवापत संकलन हुने रकमको ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत रकम प्रदेश सरकारको कोषमा जम्मा हुने गरी यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणको काम अघि बढाइएको हो ।
यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणका क्रममा हालसम्म एक करोड ५० लाख खर्च भइसकेको छ । करिब सय वर्ष टिक्ने फाइबरको यलम्बर शालिक पिलर सहित सय फिट अग्लो हुने छ ।
बुईपाको पञ्चरदोबाटोमा पार्क सहितको यलम्बर हाङको शालिक राख्नका लागि २०७५ असोजमा सर्भे गरिएको थियो । यलम्बर हाङको शालिक तथा यलम्बर पार्क निर्माणको ठेक्का उमा–तुवाचुङ–अनसुवी जेभीले लिएको छ । आगामी १८ महिनाभित्र यलम्बार पार्क तथा यलम्बरको शालिक राख्ने काम पुरा हुने बुईपाका वडाध्यक्ष दिनेश राईले बताए ।
२०७६ सालदेखि यलम्बर पार्कको काम थालेको निर्माण कम्पनीले २०७८ असारमा यलम्बरको शालिक निर्माणका लागि सम्झौता गरेको हो । यलम्बरको मुर्ती निर्माणका लागि किरात राई यायोक्खाले २०७६ असोजमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई स्केच प्रदान गरेको थियो ।
पार्क तथा शालिकका लागि २०६७ मा पहिलो डिपिआर तयार पारिएको थियो । तर, पहिलो डिपिआरमा भएको अपुरो पक्षलाई सुधार गर्दै २०७७ मा अर्को कन्सल्टेन्सीमार्फत दोश्रो डिपिआर बनाउनु परेको नगरपालिकाले जनाएको छ । पार्क अन्तरगत हालसम्म गेट, बाटो, कफिशप, रेष्टुरेन्ट लगायतका संरचना बनिसकेको छ ।
लागत सहभागीतामा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणका लागि नगरपालिका र प्रदेश सरकारबीच २०७६ जेठमा सम्झौता गरिएको थियो । यलम्बर पार्कमा घुमफिर गर्ने ठाउँ, बिश्राम गर्ने फलामे कुर्सी, फ्री–वाईफाई, कफी तथा फास्टफुड लगायतका आधुनिक सेवा सुबिधा सहितको संरचना निर्माण गर्ने डिपिआरमा उल्लेख छ । यलम्बरको शालिक रहने यलम्बर पार्क प्रवेश गर्न शुल्क निर्धारण गरिने उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताए ।