शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पार्क निर्माण गर्नेक्रममा कंकाल निस्किएपछि... 

पार्क निर्माण गर्नेक्रममा कंकाल निस्किएपछि... 

रोदिक खबर

१५, कार्तिक २०७८
  • 4.8K
    SHARES
  • पार्क निर्माण गर्नेक्रममा कंकाल निस्किएपछि... 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपामा प्रथम किराती राजा यलम्बर हाङको शालिक सहितको पार्क निर्माण गर्ने क्रममा चिहान भत्किँदा मानव कंकाल जमिन बाहिर निस्किएको छ । वुइपाको पञ्चरदोबाटोमा प्रथम किराती राजा यलम्बर हाङको सय फिट अग्लो शालिक राख्ने तथा यलम्बर पार्क निर्माणको काम गर्नेक्रममा पुरानो तथा नयाँ चिहान भत्किँदा मानव कंकाल निस्किएको हो ।

    यलम्बर हाङको शालिक राख्ने तथा यलम्बर पार्क निर्माणका क्रममा १५–२० वटा चिहान भत्काउने र कंकाल तथा अवशेषलाई संकलन गरेर आत्मघर बनाएर राख्ने भनिएपनि सय वटाभन्दा बढि चिहान भत्काइएको नवगठित भूमिपुत्र किरात उपभोक्ता समितिमा आवद्ध स्थानीय डार्विन राईले बताए । 

    साविकको वुइपा–३, ५, ९ लगायतका राई समुदायले सो स्थानमा मृतक पूर्खाको शव गाडेर चिहान बनाउने गरेका छन् । सो आसपासमा नयाँ तथा पुराना गरी कम्तीमा २८८ वटा चिहान रहेको स्थानीय बताउँछन् । निर्माण कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले स्टोर हाउस बनाउनेक्रममा चिहान खनिएर कंकाल यत्रतत्र निस्किएको राईले जनाए । 

    आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत र १ नम्बर प्रदेश सरकारको ७० प्रतिशत गरी १४ करोडको लागत सहभागीतामा पूरा गर्नेगरी सोही स्थानमा यलम्बर हाङको शालिक राख्ने तथा यलम्बर पार्क निर्माणको काम सुरु गरिएको हो ।

    मुन्धुम विधि अनुसार माङी गरेपछि २ कात्तिकमा शालिक तथा यलम्बर पार्क शिलान्यास गरिएको थियो । चिहान भत्किएर कंकाल निस्किएपछि गठित भूमीपुत्र किरात उपभोक्ता समितिमा आवद्ध स्थानीय विरोधमा उत्रिएका छन् । विरोधकै कारण ७ कात्तिकदेखि शालिक तथा पार्कको काम अघि बढ्न नसकेको बताइएको छ । चिहानको व्यवस्थापन गर्ने सहमतीमा काम अघि बढेको भएपनि मान्छे उचालेर विवाद निकालिएको वडाध्यक्ष दिनेश राईले बताए । 

    भूमिपुत्र किरात उपभोक्ता समितिले आइतबार वडा कार्यालय समक्ष कंकालको यथोचित व्यवस्थापनदेखि शालिक राख्ने स्थान परिवर्तनसम्मका १० बुँदे लिखित माग राखेको जनाएको छ । चिहान भत्किएर कंकाल बाहिर निस्कएको विषयमा वडा कार्यालयमार्फत छलफल गरेर समस्या हल गर्ने प्रयास भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिजालले बताए ।

    ‘प्रायः डाँडामा समाधिस्थल हुन्छन् नै । संरचना बनाउँदा खन्नैपर्छ, खन्दाखेरि केही अवशेष निस्केको हो । अवशेष निस्कन्छ भनेरै सवैको सम्झना हुनेगरी आत्मघर बनाएर राख्ने सल्लाह पहिलादेखि भएकै थियो,’ नगरप्रमुख रिजालले भने, ‘असन्तुष्टि आउनु स्वभाविक हो । यो मानवीय संवेदनासँग सम्वन्धित विषय भएकाले चाँडै नै समाधान गरेर काम अगाडि बढाउने भन्ने नै छ ।’ 
    काम सुरु हुनु अगावै राखिनुपर्ने चिहानको विषयलाई काम सुरु भएपछि ‘राजनैतिक इस्यू’ बनाउन खोजिएको कतिपयको बुझाई छ । हाल ‘शालिक की चिहान प्राथमिकता’ भन्ने विषय पेचिलो बन्दै गएको छ ।

    विवादलाई हल गर्दै शालिक तथा पार्क निर्माणको कामलाई पूर्णता दिनुपर्ने कांग्रेसका वडा कार्य समिति वुइपाका सभापति भीम श्रेष्ठले बताए । 

    प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - ०९:१३:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको