रत्नपार्कमा सवै धर्मावलम्बीलाई स्वीकार हुने धार्मिक संरचना निर्माणको माग

रत्नपार्कमा सवै धर्मावलम्बीलाई स्वीकार हुने धार्मिक संरचना निर्माणको माग

रोदिक खबर

२२, मंसिर २०७८
  • 3.2K
    SHARES
  • रत्नपार्कमा सवै धर्मावलम्बीलाई स्वीकार हुने धार्मिक संरचना निर्माणको माग

    खोटाङ ।  नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले दिक्तेलको रत्नपार्कमा सवै धर्मावलम्बीलाई मान्य हुने धार्मिक संरचना निर्माणको माग गरेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कमा निर्माणाधिन सपिङ सेन्टर तथा चिल्ड्रेन पार्क नजिकैको सार्वजनिक जग्गामा हिन्दु धर्मलाई मात्र लक्षित गर्दै मन्दिर बनाउन लागिएको भन्दै जनजाती महासंघले सवै धर्मावलम्बीलाई स्वीकार हुने संरचना निर्माणको माग गरेको हो । 

    बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई ज्ञापन–पत्र बुझाउँदै जनजाती महासंघले सवै धर्मावलम्बीलाई मान्य हुने विकल्प खोज्न आग्रह गरेको छ ।

    नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाले बुझाएको ज्ञापन–पत्रमा एकल हिन्दु धर्ममा आधारित सोच बनाएर मन्दिर निर्माण सुरु गरिएकोप्रति दुःख प्रकट गरिएको छ । आफ्नो मागलाई बेवास्ता गरे आन्दोलनका कार्यक्रम सार्वजनिक गरी पूर्णरुपमा संघर्षमा उत्रने आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका सचिव उदिम चाम्लिङले चेतावनी दिए । 


    आदिवासी जनजाती प्रमाणीकरण गर्ने अधिकारमा दावी 


    आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदले आदिवासी जानजाती प्रमाणीकरणको अधिकार आफुले पाउनुपर्ने माग गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाललाई ज्ञापन–पत्र बुझाउँदै महासंघले नेपाल सरकार २५ माघ २०५८ को राजपत्र भाग–२ मा प्रकाशित र आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लेखित भए बमोजिम आदिवासी जनजातीका लागि सिफारीस दिने वा प्रमाणित गर्ने अधिकार आफुले पाउनुपर्ने दावी गरेको हो ।

    हालसम्म जिल्ला प्रशासन कार्यालयले आदिवासी जानजातीको प्रमाणिकरणको काम गर्दै आएकामा महासंघले सो प्रमाणीकरण गर्ने अधिकारमा दावी गरेको हो । ‘आजको मितिसम्म जिल्ला प्रशासन कार्यालयबाट आदिवासी जानजाती प्रमाणित गरिरहँदा कुनै पनि समस्याहरु थिएनन्,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘अब महासंघको औचित्य राख्न आदिवासी जनजातीलाई आदिवासी जनजाती समुदायको सदस्य हो भनि प्रमाणित गरिने छ ।’ 
    नेपालमा बसोबास गर्दै आएका ५९ आदिवासी जनजातीमध्ये खोटाङमा राई, नेवार, मगर, तामाङ, शेर्पा, भुजेल, गुरुङ, सुनुवार, माझी, लिम्वु, चौधरी र थारु समुदायको बसोबास रहेको छ । 

    प्रकाशित मिति :मंसिर २२, २०७८ बुधवार - २१:१६:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको