खोटाङ । खोटाङमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सय नाघेको छ । अघिल्लो दिनसम्म ९४ संक्रमित रहेको जिल्लामा सोमबार १९ जनालाई संक्रमण पूष्टि भएसँगै सक्रिया संक्रमितको संख्या ११३ पुगेको हो । सोमबार ६७ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनालाई कोभिड–१९ पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय खोटाङका स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिए ।
कोभिड–१९ को तेश्रो लहरमा संक्रमित भएकामध्ये हालसम्म चार जना संक्रमणमुक्त भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र सक्रिय संक्रमितको संख्या ७२ पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार ५९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनालाई संक्रमण पूष्टि भएको हो ।
जिल्लाका सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् ।
कोभिड महामारीको सुरुवातदेखि हालसम्ममा जिल्लामा कुल संक्रमितको संख्या ३ हजार १७५ पुग्दा ३ हजार ४४ निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।
जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ । १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।