खोटाङ, २ माघ । खोटाङमा ट्याक्टर दुर्घट्नामा १४ वर्षीय चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्क पुछारबाट सोमबार हलेसीतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैले नवलपुर निवासी चालक सिटामोल भन्ने शेखर मगरको मृत्यु भएको हो । ट्याक्टर पल्टिएर सडकबाट करिब ७५ मिटर तल खस्दा चालक मगरको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कामका लागि हिँडेको ट्याक्टर हलेसी–धितुङ–रेग्मीटार सडक खण्डको कालिकादेबीथान नजिकै काभ्रे खोलामा दुर्घटनामा परेको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए । दुर्घटनामा ट्याक्टरका मालिक हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्कका ३२ वर्षीय नगेन्द्र राई घाईते भएका छन् ।
हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचार गराएका राईको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठ्माण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर साहले बताए । कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घट्नाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।